८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

एसियाडको क्रिकेटमा नेपाल भारतसँग पराजित हुँदै बाहिरियो

१६ असोज, काठमाडौं । एसियाली क्रिकेट अन्तर्गत चीनको हाङझाउमा आज सम्पन्न टी२० क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।

भारतले प्रस्तुत गरेको २०३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाएर एक सय ७९ रन मात्र बनाउन सकेको थियो । यद्यपि भारतविरुद्ध नेपालको खेल प्रदर्शन निकै प्रशंसायोग्य थियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन बनाए । यसैगरी कुशल भुर्तेलले २८, आसिफ सेखले १०, कुशल मल्लले २९, कप्तान रोहित पौडेलले ३, सन्दीप जोराले २९, सोमपाल कामीले ७, गुल्सन झाले ६, करन केसीले अविजित १८ तथा सन्दीप लामिछानेले ५ रन बनाए ।

भारतका लागि रवी बिस्नोई र अभेष खानले समान ३/३ विकेट लिएका थिए । अर्शदीप सिंहले २ तथा साई किशोरले १ विकेट लिए । यसअघि टस जितेर भारतले पहिले ब्याटिङ गरेको थियो । भारतका लागि यशस्वी जयसवालले एक सय रन बनाए । उनले ४९ बलमा शतक बनाएर नेपालमाथि दबाब बनाएका थिए । साथै ऋतुराज गायक्वाडले २५, शिभम दुबेले २५ तथा रिन्कु सिंहले आक्रामक ३७ रन बनाएका थिए ।

नेपाली बलर दीपेन्द्रसिंह ऐरीले २, सन्दीप लामिछाने र सोमपाल कामीले समान एक/एक विकेट लिएका थिए । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिर भएको छ भने भारत सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलवार ११:२४