८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

उन्नाइसौँ एशियाली खेलकुद : महिला कबड्डीमा नेपाललाई पदकको सम्भावना

१५ असोज, काठमाडौँ । उन्नाइसौँ एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा नेपालले पदक प्राप्त गर्ने सम्भावना देखिएको छ । चीनको हाङ्झाउमा आज भएको खेलमा नेपालले बङ्लादेशलाई पराजित गरेसँगै पदक प्राप्त गर्ने सम्भावना बनेको हो । आजको खेलमा नेपालले बङ्लादेशलाई ३७–२४ अङ्कले पराजित गरेको हो । पहिलो हाफमा नेपालले २१–१६ अङ्कको अग्रता लिएको थियो ।

दोस्रो हाफमा नेपालले १६–८ अङ्कको अग्रता लिएपछि जित पक्का भएको हो । महिला कबड्डीतर्फ नेपाल ‘समूह बी’मा रहेको छ । उक्त समूहमा नेपालसँगै बङ्गलादेश र इरान छन् । अब नेपालले महिला कबड्डीमा बलियो मानिएको इरानसित खेल्नेछ । इरानले बङ्गलादेशलाई पराजित गरेको अवस्थामा मात्र नेपाल सेमिफाइनल प्रवेश गर्नेछ । यस्तो अवस्थामा नेपालले पदक पाउने पक्कापक्की हुन्छ । इरानले १८औँ एसियाली खेलकुदमा पनि महिला कबड्डीमा स्वर्णपदक जितेको थियो ।

महिला कबड्डीको ‘समूह ए’मा भारत, थाइल्याण्ड, चाइनिज ताइपेइ र दक्षिण कोरिया रहेका छन् । कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान रहेको छ । महिला भलिबलमा नेपाल दक्षिण कोरियासित पराजित उन्नइसौँ एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलमा नेपाल आफ्नो दोस्रो खेलमा दक्षिण कोरियासँग पराजित भएको छ । नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको हो ।

चीनको हाङ्झाउमा आज भएको खेलमा दक्षिण कोरियाले नेपालाई २५–२१, २५–१४ र २५–११ अङ्कले पराजित गरेको हो । नेपाल यसअघि शनिबार भियतनामसँग ३–० सेटले पराजित भएको थियो । ‘समूह सी’मा नेपालसँगै भियतनाम र दक्षिण कोरिया छन् । पुरुष भलिबलमा नेपाल यसअघि नै पराजित भएर स्वदेश फर्किसकेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार १४:४३