मेलम्चीमा होमस्टे व्यवस्थापन तथा प्राङ्गारिक खेतीबाली तालिम सम्पन्न (तस्विरसहित)
१२ असाेज, सिन्धुपाल्चोक । महिला उद्यमी महासंघ नेपालको आयोजना तथा अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) नेपाल कार्यालयको सहयोगमा होमस्टे व्यवस्थापन तथा प्राङगारिक खेतीबाली सम्बन्धि दुई हप्ते तालिम सम्पन्न भएको छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं. २ जैसीगाउँमा संचालित कार्यक्रममा ३५ जना महिलाहरुको सहभागिता रहेको थियो ।
तालिम समापनको अवसरमा अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) नेपाल कार्यालयका प्रमुख नुमन ओकजनले महिलाहरुको आर्यआजन, सिप तथा क्षमता अभिवृद्धिमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । श्रम र सिपको सम्मान हुनुपर्नेमा जोड दिँदै ओकजनले आफुले मेलम्ची नगरपालिका भ्रमण गर्दा साहसिक तथा सांस्कृतिक पर्यटनको अत्यन्तै सम्भावना देखेको बताए ।
समता मुलक समाज निमार्णको लागि महिलाहरुको सहभागितालाई आर्य आर्जन सँग जोडन तालिम संचालन गरिएको महिला उद्यमी महासंघका अध्यक्ष शोभा ज्ञवालीले बताए । महिला शशक्तिकरणको लागि उद्यमशिलताका फरक फरक कार्यक्रमहरु देशैभर संचालन भइरहेको ज्ञवालीले बताए ।
कार्यक्रममा महिला उद्यमी महासंघका द्धितिय उपाध्यक्ष सुनिता वैध्य श्रेष्ठ तथा सचिव सुमित्रा श्रेष्ठ पलान्चोकेले तालिममा सिकेको सिपलाई व्यवहारमा रुपान्तरणको लागि शुभकामना व्यक्त गरिन् । भविष्यमा समेत सिकाईलाई निरन्तरता दिइने महिला उद्यमी महासंघका कार्यक्रम संयोजक रमोला स्थापितले बताइन् ।
प्रकृति रिर्सोटका संचालक अरुण श्रेष्ठले स्वास्थ्यको लागि प्राङगारिक खेतीबालि र जैविक मलको प्रयोगलाई बढावा दिनुपर्ने बताए । प्रकृति रिर्सोटमा विषादी रहित खानेकुरा उपलब्ध गराइरहेको बताउँदै श्रेष्ठले सरकारले यसतर्फ सोच्न ढिला भैसकेको बताए ।
तालिम कार्यक्रमबाट प्राङ्गारिक खेती, जैविक मल, रैथाने विउ विजन, पाहुनालाई स्वागत सत्कार, रैथाने परिकार निमार्ण, घुमाउने कला, सांस्कृतिक कार्यक्रम तथा पर्यटनको महत्व बारेमा सिकाई भएको प्रशिक्षार्थी इन्दिरा खतिवडाले बताइन् । दशैँ अघि नै होमस्टे संचालन गरी अर्गानिक खानेकुरा दिन सक्षम भएको गोमा योञ्जन तामाङले बताइन् ।
दुई हप्ते तालिम कार्यक्रममा प्राङगारिक खेतीबालि तर्फ रामु राउत र प्रा.डा. आनन्द शोभा ताम्राकार तथा होमस्टे व्यवस्थापन तर्फ भुमराज तिवारीले सैदान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गरेका थिए । तालिम कार्यक्रमको समापन मेलम्ची नगरपालिका वडा नं. २ का वडा अध्यक्ष नगेन्द्र प्रसाद खतिवडाको सभापतित्वमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार २०:०९