६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

यो साता सुनको मूल्यमा गिरावट, यस्ताे छ कारण

१२ असोज, काठमाडौँ ।  यो साता विश्व बजारमा बहुमूल्य धातु सुनको मूल्यमा कमी आएको छ । अमेरिकी बजारमा सुनको बिक्री बढ्नुका साथै अमेरिकी डलर मजबुत बनेकोले सुनको मूल्यमा उच्च गिरावट आएको व्यवसायीको भनाइ छ ।

विश्व बजारमा कच्चा तेलको मूल्यमा समेत कमी आएकोले विश्व अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न गइ सुनको मूल्यमा कमी आएको विश्लेषकहरुले बताएका छन् । यो क्रम अझै केही समय कायमै रहन सक्ने अनुमान विश्लेषकहरुको छ ।

अमेरिकी डलर मजबुत बन्दै जाँदा त्यसको प्रभाव स्वरुप त्यहाँको सेयर बजारमा भने गिरावट देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको कमीको प्रभावले नेपाली बजारमा मूल्यमा उच्च गिरावट आएको नेपाल सुनचाँदी ब्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

बज्राचार्यका अनुसार नेपाली बजारमा यो साताको पहिलो दिन आइतबार प्रति १० ग्राम ९६ हजार १ सय ९५ रुपैयाँ रहेको सुनको मूल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम सुनको मूल्य ९३ हजार २ सय ८० रुपैयाँमा झरेको छ । जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम ३ हजार ९ सय १५ रुपैयाँले कम हो ।

नेपाली बजारमा साताको पहिलो दिन आइतबारको तुलनामा दोस्रो दिन स्थिर रहेको सुनको मूल्य साताका अन्य सबै दिन ओरालो लागेको छ ।

यो साता नेपाली बजारमा चाँदीको मूल्यमा पनि कमी आएको छ । साताको पहिलो दिन १ हजार २ सय २६ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ३ सय ९५ रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार १५:५८