सानिमा बैंकले ‘दशैंखर्च’को साथमा बोनस उपहार दिने, बुक क्लोज कहिले ?
८ असोज, काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई ‘दशैंखर्च’ को साथै बोनस सेयर समेत उपहार दिने भएको छ । बैंकले सेयरधनीलाई ‘दशैंखर्च’ दिनकाे लागि कात्तिक २ गते आफ्नो वार्षिक साधारणसभा बाेलाएकाे छ । बैंकले १९औं साधारणसभा कुण्डलिनी दरबार ब्यांकेट चण्डोलमा बिहान ११ बजेदेखि बोलाएको छ ।
सभाले बैंकले सेयरधनीलाई ९ प्रतिशत बोनस र कर प्रयोजनका लागि ५.७० प्रतिशत नगदसहित १४.७० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले असोज २२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यसकाे अर्थ असोज २१ गतेसम्म नेप्सेमा काराेबार भइ कायम रहेका सेयरधनीहरूले साधारण सभामा सहभागि हुन र बैंकले प्रस्ताव गरेको लाभांश पाउन सक्नेछन् ।
प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार १०:१९