२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

के कती कर तिर्नु पर्ने हो ? (कविता)


–गणेश आचार्य

हुकुम गरि बक्सियोस् सरकार
मैले मेरो राज्यलाई
मेरो दैनिक आम्दानीबाट
के कती कर तिर्नु पर्ने हो ?
हुकुम गरिबस्सियोस् सरकार
मैले मेरो राज्यलाई
सडकमा बसेर भिख मागे बापत
के कती जरिवाना तिर्नु पर्ने हो ?

मलाई माफ गर सरकार
मैले तिमिले जस्तै सरकारमा बसेर
राज्यको धुकुटी बर्मलुट गर्न जानिन
महलमा बसेर भिख माग्न जानिन
पजेरोमा चढेर जनता ठग्न जानिन
जनतालाई पटक-पटक झुक्काएर
झुटा सपनाहरुको खेती गर्न जानिन
बस् ईमान्दारीता देखाए, अञ्जुली फिजाए
केही दयावान आत्महरुले
दिएका केही आशिर्वादहरुले
म बाचेको छु जसोतसो

तरपनि मलाई थाहा छ, यसो भन्दैमा
म मेरो कर्तब्य बाट भाग्न मिल्दैन
संबृद नेपाल हेर्ने मेरो सपना
अझै पनि मरेको छैन ।
म सुत्न सक्छु यो खुल्ला आकाश मुनी
धर्तीमातालाई बिस्तारा बनाएर
किनकी मेरो संन्सार त्यती साधुरो छैन

मलाई तिमीलाई जस्तै
पलङमा सुत्नै पर्ने बानी पनि त छैन
महल नभई निन्द्रा नलाग्ने रोग पनि त छैन
तिमीलाई जस्तै सात पुस्तालाई पुग्ने गरि
अकुत सम्पती थुपार्नु पनि त छैन
श्रीमतीका कान च्यातिने गरी
गहना झुन्डाईदिनु पर्ने पनि त छैन
अनि म एक निरीह जनता, तिमी जस्तो
कानुन भन्दा माथी पनि त छैन ।

बस् हुकुम गरि बक्सियोस् सरकार
मैले मेरो आम्दानीबाट यो राज्यलाई
के कती कर तिर्नु पर्ने हो ?
के कती कर तिर्नु पर्ने हो ?

–जैमिनी न. पा. ५ बाग्लुङ हाल इटाली ।

प्रकाशित मिति : १७ कार्तिक २०७५, शनिबार ०८:०५