२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

आर्यघाटबाट फर्केपछि ओलीले सम्झिएको त्यो डरलाग्दो घटना…

२८ भाद्र, काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पशुपति आर्यघाटबाट फर्किएपछि  आफ्नो पुरानो डायरीको पाना पल्टाएका छन । एमाले उपाध्यक्ष समेत रहेका संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली दिएर फर्किएपछि अध्यक्ष ओलीले पुरानो डायरी पल्टाएका हुन । उनले यसबारेमा सामाजिक सञ्जाल मार्फत सानो टिप्पणी राखेका छन ।

ओलीको टिप्पणी जस्ताको त्यस्तै तल हेर्न सक्नुहुन्छ…

प्रिय साथी सुवास नेम्वाङलाई सदाका लागि बिदाइ गरेर आर्यघाटबाट फर्केपछि आज मैले आठ वर्ष अघि अयसै समयको डायरीको पाना पल्टाएँ । त्यस कठीन बेलाको दृश्य आँखा अगाडि आयो । नेपालमाथि नाकाबन्दीको हल्ला चलिसकेको थियो, सुरक्षाको कारण देखाएर सीमा नाकामा गाडी रोकिन थालिसकेका थिए । भूकम्पको ठूलो क्षतिबाट उठ्न सकेका थिएनौं । अत्यावश्यक इन्धनको अभावले बजारमा हाहाकार सुरु भइसकेको थियो ।

विभिन्न जातीय, क्षेत्रीय, धार्मिक समुहलाई उत्तेजित बनाउने र त्यसबाट देशलाई अस्थिरतातर्फ लैजाने प्रयास भित्रभित्रै भइरहेका थिए । नेपाललाई स्वतन्त्र राष्ट्रका रुपमा रहन नदिने एउटा प्रहार खेपीरहेका थियौं । संविधानसभाका सधैं शान्त रुपमा प्रस्तुत हुने उहाँ त्यो दिन कडा रुपमा प्रस्तुत हुनुभएको थियो । दलका नेता, संविधानसभाका अध्यक्ष, प्रधानमन्त्री सबैलाई संविधान रोक्न निकै ठूलो दवाव थियो ।

भारतीय विदेश सचिव आएर फर्केपछि सुवासजी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर अलि अत्तालिंदै मलाई भेट्न आउनु भयो । उहाँले अलि हडबडाउँदै भन्नुभयो– ‘डरलाग्दो स्थिति छ, तीन गते संविधान जारी गर्नबाट रोकियो भने संविधान मात्रै होइन, सबै वर्वाद हुनेछ । यस्तो भयो भने त देश नै सकिन्छ ।’

उहाँ असोज तीन गते संविधान जारी गर्न संसदमा आइदिन निम्तो लिएर राष्ट्रपति रामवरण यादवकहाँ जाँदा राष्ट्रपतिले आउने, नआउने केही भन्नु भएनछ । ‘नआउन पनि सक्ने देखें, के गर्ने होला ?’ सुवासजी संविधान जारी नहुने चिन्ताले उत्तेजित हुनु भएको रहेछ । उहाँलाई मैले तपाईं तीन गतेको तयारी गर्नुस्, जे हुन्छ, त्यही दिन गरौंला भनें । हुन पनि संविधान जारी भएपछि नाकबन्दी भयो । हामीले नाकाबन्दीको त्यो अप्ठ्यारो पार गरेको झलझली सम्झिरहेको छु, सुवासजी !

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार २०:२३