१ मंसिर २०८१, शनिबार | Sun Nov 17 2024

संस्कृति प्रवर्द्धनसहितको कूटनीति स्थापित गराैँः तुलसी दिवस

२३ भदौ, काठमाडौँ । नेपालले अन्य देश तथा अन्तर्राष्ट्रिय नियोगहरूसँगको सम्बन्ध स्थापना एवं विस्तार गर्दा संस्कृति प्रवर्द्धनलाई मुख्य आधार बनाउनुपर्ने धारणा जानकारहरूले राखेका छन । सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालले नवनियुक्त राजदूत तथा संयुक्त राष्ट्रसङ्घका स्थायी प्रतिनिधिको सम्मानमा शनिबार आयोजना गरेको अन्तक्रिय, बधाई तथा शुभकामना कार्यक्रमका वक्ताहरूले संस्कृति प्रवर्द्धनसहितको कूटनीति स्थापनामा जोड दिएका हुन ।

कार्यक्रममा वरिष्ठ संस्कृतिविद् तथा कवि तुलसी दिवसले देशको प्रतिनिधित्व गर्ने राजदूतले औपचारिकमात्र नभई अनौपचारिकरूपमा पनि सम्बन्ध अघि बढाउन सक्नुपर्ने बताए । सांस्कृतिक सचेतना र प्रवर्द्धनमा राजदूतको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

नेपाली भाषा, संस्कृति, रहनसहन, वेशभूषा चिनाउनका लागि परराष्ट्र मन्त्रालयबाटै राजदूतलाई अभिमुखीकरण तथा निर्देशन हुनुपर्नेमा संस्कृतिविद् दिवसले जोड दिए । “देश भौगोलिक सीमाभित्र हुन्छ । भाषा साहित्य संसारभरि फैलिएको छ । यो जीवन्त भएर बसेको हुन्छ । विदेशमा बस्नेहरूमा आफ्नो भाषा, संस्कृतिप्रति अझ बढी माया र लगाव हुन्छ”, उनले भने, “नेपालसँगको सम्पर्क टुटेकै कारण कोही पनि आफ्नो संस्कृतिबाट एक्लिन हुँदैन । त्यसलाई जोड्नका लागि विदेशस्थित दूतावासले भूमिका खेल्नुपर्छ ।”

नेपालको संस्कृति प्रवर्द्धनमा राजदूतको क्रियाशीलतामा संस्कृतिविद् दिवसले जोड दिए । नेपालको संस्कृतिलाई विदेशमा चिनाउन राजदूतहरूले साथ दिँदामात्रै पनि ठूलो फड्को मार्ने उनको भनाइ छ । “देशको पहिचान देशभित्र मात्रै हुँदैन । भाषा र संस्कृतिले नागरिकको पहिचान दिनुका साथै विदेशमा बस्दा यहाँको संस्कृतिको महत्व अझ बढी हुन्छ”,  उनले भने, “यसका लागि राजदूतले सहजीकरण गरिदिनुपर्ने हुन्छ । भाषा र संस्कृतिको प्रयोग गरिएन भने औपचारिकतामात्रै बाँकी रहन्छ, हराउँदै जान्छ ।”

उनले नेपाल सीमाभित्र रहे पनि भाषा र संस्कृति विश्वफर फैलाउन सक्ने बताए  । दिवसले त्यसकारणले भाषा र संस्कृतिको विश्ववापीकरणमा राजदूतहरूले काम गर्नुपर्ने बताए । राजदूतहरू सांस्कृतिक कार्यक्रममा सरिक हुनुपर्ने कवि दिवसको भनाइ छ । आफू नेपाली संस्कृतिको प्रकृतिसँग सम्बन्ध प्रगाढ रहेको उनले बताए । नेपालका लोकगीत, नाचगान, वेशभूषा, रहनसहनको प्रकृतिसँग अन्योन्याश्रित सम्बन्ध रहेको दिवसले बताए । सो कार्यक्रममा त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्रमुख प्राध्यापक डा खगेन्द्र लुँइटेलले विदेशमा नेपाली भाषा र संस्कृति प्रवर्द्धनका लागि राजदूतको भूमिका महत्त्वपूर्ण रहने बताए । परिषद्का अध्यक्ष बमबहादुर कार्कीले संस्कृति संसरक्षणका लागि चाल्न लागिएको पाइलाका बारेमा बताएका थिए ।

कार्यक्रममा संयुक्त राष्ट्रसङ्घीय स्थायी नियोग जेनेभाका लागि नेपालका प्रतिनिधि तथा स्वीटजरल्याण्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदी, युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्साल, थाइल्याण्डका लागि नवनियुक्त नेपाली राजदूत धनबहादुर ओलीले पनि संस्कृति प्रवर्द्धनसहितको कूटनीतिमा जोड दिएको सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् बैकुण्ठ महतले जानकारी दिए ।

कार्यक्रमलाई तल तस्बिरमा पनि हेर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार २१:३७