१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

नेपाल र चीनको सीमा तिंकरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना 

२३ भाद्र, काठमाडाैँ ।  सशस्त्र प्रहरी बल नेपालले चीनको सीमातर्फ दार्चुलाको व्याँस गाउँपालिका वार्ड नं. १ स्थित छयाँलेक तिंकरमा बोर्डर आउट पोष्ट (बिओपी)को स्थापना गरेको छ । बिओपीको सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले भाद्र २२ गते शुक्रबार उद्घाटन गरे ।

दार्चुला सदरमुकामबाट करीव १ सय १२ किलोमिटर उत्तरतर्फ बिओपी स्थापना भएको हो । सशस्त्र प्रहरी बल, नेपाल नं. ५० गुल्म छाङ्गरु दार्चुलाको मातहतमा स्थापना भएको बिओपी गुल्मबाट करीव ११ किलोमिटरको दुरीमा रहेको छ ।

यसअघि सशस्त्र प्रहरी बल नेपालले चीनतर्फ हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ्ग, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, संखुवासभाको किमाथाङका, ताप्लेजुङ्गको ओलाङचुङगोला सहित ८ ठाउँमा बिओपी स्थापना गरी सकेको छ । तिंकरमा स्थापना भएको बिओपी सहित चीनतर्फ ९ वटा र भारततर्फ २ सय ४३ गरी बिओपीको संख्या २ सय ५२ वटा पुगेको छ ।

तिंकरमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा रहने बिओपी स्थापनाको लागि हेलिकप्टरमा आवश्यक बन्दोबस्ती र जनशक्ति भाद्र १३ गते त्यसतर्फ पु¥याईएको थियो । सो बिओपीका लागि एउटा भवन निर्माण गरिएको छ । नयाँ स्थापना भएको बिओपीबाट छिमेकी मुलुकहरु भारतको नाभिडाङ्ग र चीनको ताक्लाकोट बजार नजिकै पर्ने सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

कार्यक्रममा दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, सशस्त्र प्रहरी बल नेपाल नं. ४३ रिजर्व गण कैलाली तथा नं. ४४ गण दार्चुलाका गणपति, नं. ५० गुल्म छाङ्गरुका गुल्मपति, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला स्थित प्रमुखहरु लगायत संचारकर्मी र स्थानीय वासिन्दाहरुको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार १४:२१