३० असार २०८१, आईतवार | Sun Jul 14 2024

एकै पुस्तकालयमा तीन दशक बिताएका जोगप्रसाद पाण्डे


२१ भदौ, काठमाडौँ । विसं २०१५ साल श्रावण २६ गते स्याङ्गजाको बिर्घा अर्चलेबारीमा जन्मनुभएका बाल ब्रह्मचारी जोगप्रसाद पाण्डेले विद्यालय तहसम्मको शिक्षा गाउकै जनता माविबाट पूरा गर्नुभयो । सानैदेखि आध्यात्मिक स्वाभावका पाण्डे केही समय भारत बस्नुभयो । भारतमा हुँदा पनि उहाँ धार्मिक कर्ममै रमाउनु भयो । २०४३ सालतिर भारतबाट फर्किएसंगै उहाँ गाउकै विभिन्न धार्मिक तथा सामाजिक संघसस्थासंग आवद्ध भएर सामाजिक कार्यमा लाग्नु भयो । जीवनभर बिहे नगर्ने निर्णय गरी बस्नुभएका ब्रह्मचारी खालीखुट्टा हिड्ने जोगप्रसाद पाण्डेले २०४८ सालदेखि प्याज, लसुन, नुनसमेत छाडी एक छाक चोखो प्रसाद ग्रहण गर्नुहुन्छ ।

स्याङ्गजा जिल्लाको दूर्गममा रहे पनि बिर्घा पहिलेदेखि नै शैक्षिक उर्बरभूमिले परिचित गाउँ हो । राणा शासनको अन्त्य संगै विस। २००७ सालपछि नेपालमा विद्यालयहरू खुल्ने क्रमसंगै यहाँ पनि विद्यालयहरू खुले तर पनि पुस्तकालय खुल्न नेपालको २०४६ को बहुदलीय व्यवस्था नै कुर्नुपर्यो । २०४७ सालतिर गाउँकै गोपाल पाण्डेको अगुवाइमा पुस्तकालय खोल्ने अभियानमा जोगप्रसाद पाण्डे पनि सक्रियरूपमा लाग्नुभयो । एउटा सानो कोठाबाट शुरु भएको पुस्तकालयले अमेरिकी नागरिक स्व।एन्टोनिया न्यूवारको सहयोगमा मूर्तरूप पायो–मातृभूमि सामुदायिक पुस्तकालयका नाममा ।

वि।स।२०५० सालदेखि आफ्नै भवनबाट सेवा दिने गरी नियमितरूपमा पुस्तकालय सञ्चालनमा आयो । गाउँमा पुस्तकालय त खुल्यो जिम्मा लगाउने पाको मान्छे को त भन्दा पुस्तकालयको स्थापना गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्याउनुभएका, स्वाभावले पनि आध्यात्मिक जोगप्रसाद पाण्डेलाई गाउँका भद्रभलाद्मी सबैको सहमतिमा पहिलो कर्मचारीका रुपमा पुस्तकालयको जिम्मेवारी दिइयो । यो तीन दशकको दौडानमा पुस्तकालयमा धेरै कर्मचारी अदलबदल भएपनि जोगप्रसाद पाण्डे २०५० साल कार्तिक १३ गते नियुक्त भएयता निरन्तर सतिसाल झैँ हालसम्म कार्यरत हुनुन्छ ।

गाउँकै पुरानो घर किनेर आफ्नो सेवा शुरू गरेको मातृभूमि पुस्तकालयका झ्यालढोका पुराना भएकोले शुरूवाती दिनमा जोगप्रसाद पाण्डेले कयौं रात पुस्तक कुर्ने प्रयोजनका लागि एक्लै पुस्तकालयमै केवल गुन्द्रीमा सुतेर रात काट्नुभएको छ । पुस्तकालय भवन, पुस्तक, पत्रपत्रिका भएपनि पुस्तकालयको सञ्चालनको नियमित आर्थिक श्रोत अभावका कारण २०५२ सालतिर पुस्तकालय संचालक समितिले पी।सी।ओ। फोन सेवा सञ्चालमा ल्याएको थियो । त्यसबाट हुने मुनाफाले कर्मचारीलाई तलब खुवाउने चलन हुन्थ्यो । करिव ५,६ वर्षसम्म यो सेवा चल्यो ।

सो समयमा बेलाबेलामा फोनको टावरमा समस्या आउथ्यो । टावरमा समस्या आउँदा ५,६ घण्टाको ठाडो उकालो हिंडेर गुल्मीको हिलेमा जानुपथ्र्यो त कहिले ब्याट्रीमा समस्या आउँदा चार्ज गर्न ४,५ घण्टाको दूरीमा रहेको पाल्पा किन नहोस् पाण्डे खाली खुट्टा ब्याट्री बोकेरै जानुभयो र फोनसेवा दिएरै पुस्तकालयको नियमित खर्च चलाउन सहयोग पुर्याउनु भयो ।

पुस्तकको अलावा पाठकहरूको तीव्र रुचि विभिन्न दैनिक, साप्ताहिक तथा मासिक पत्रपत्रिका हुनेहुँदा पुस्तकालयले आफै किन्न नसकेको अवस्थामा वार्षिकरूपमा दाताहरू खोजी करिव २ दर्जन पत्रपत्रिकाको व्यवस्थापन गर्नुभयो । यातायातको सुबिधा नहुँदाको समयमा पनि आउजाउ ३ घण्टा लगाएर १ दिन नबिराई संगैको मिर्मी बजारसम्म खालीखुट्टा पैदल गएर पनि पत्रपत्रिका ल्याएर पाठकलाई ज्ञान तथा सूचना बाड्नुभयो ।

२०७२ को भूकम्पपछिको जीर्ण अवस्थाको भवनबाट भनौँ या कोभिड महामारीको अवस्थामा पनि आफ्नो ज्यानको प्रवाह नगरी पाठकको आवश्यकतालाई मध्यनजर राख्दै निरन्तर सेवा दिनुभयो । पुस्तकालयलाई बन्द हुने अवस्था हुन दिनुभएन ।

पुस्तकालयको नियमित आर्थिक श्रोत नहुँदा पुस्तकालय व्यवस्थापन समितिले मृत्युवरण भएका व्यक्तिको नाममा अक्षयकोष स्थापना गरी त्यसबाट आउने व्याजको रकम र आजीवन सदस्य शुल्कको रकमबाट पुस्तकालय सञ्चालन गर्नुपर्ने अवस्थामा जोगप्रसाद पाण्डेले थुप्रै अक्षयकोष स्थापना गर्ने दाता र सदस्यहरू खोजी गरी पुस्तकालय सञ्चालन खर्च जुटाउनुभयो ।

पुस्तकालयको आर्थिक पक्ष कमजोरका कारण कतिपय समयमा जोगप्रसाद पाण्डेले बिना पारिश्रमिकमा स्वयंसेवकको रुपमा काम गरेरै पनि पुस्तकालय सञ्चालन गरिदिनुभयो त कतिपय समयमा न्यून पारिश्रमिकमा सेवा दिनुभएकै कारणले पुस्तकालय नियमित रुपमा सञ्चालन भैराख्यो विगत तीनदशक देखि ।

पुस्तकालयको नियमित आफ्नो जिम्मेवारी त थिए नै त्योबाहेक पुस्तकालयलाई जीवन्त राख्न ६५ वर्षीय पाण्डेले ३० वर्षे यो कालमा कहिले कुनै कसर बाँकी राख्नु भएन । आफ्नो नियमित साधना, घरधन्दा सकाएर पुस्मा समयभन्दा पहिले पुग्ने र अन्तिममा निस्किनेमा पर्नुहुन्छ जोगप्रसाद पाण्डे । कहिले माग्नुभएन आफ्नो लागि सधै माग्नुभयो पुस्तकालयको लागि । आफ्नो जीवनको सारा समय, श्रम र उमेर मातृभूमि पुस्तकालयकै उन्नयनमा व्यतित गर्नु भएको छ ।

स्थापनाकालदेखि हालसम्म पुस्तकालयको गरिमा जोगाई राख्न जोगप्रसाद पाण्डेको महत्वपूर्ण भूमिका रहेको हुँदा नै आज मातृभूमिबाट हजारौं पाठक लाभान्वित छन् । पुस्तकालयमा पुस्तक पढ्न मात्र होइन जोगप्रसाद पाण्डेसंग ज्ञान, ध्यान र त्यागको कुरा सिक्न पनि प्रायः जसो बच्चादेखि बूढापाका आउने गर्छन् । करिव चार दशकको आध्यात्मिक साधना र करिव तिन दशकको पुस्तकालय संचालनको अनुभवले जोगप्रसाद पाण्डे आफैमा एउटा पुस्तकालय हो नयाँ पिडीको लागि ।

सोह्रौँ राष्ट्रिय पुस्तकाल दिवस, २०८० को अवसरमा जोगप्रसाद पाण्डे सम्मानित पनि हुनुभयो । भदाै १५ गते काठमाडौँमा आयोजित एक कार्यक्रमबीच पुस्तकालयकर्मीमध्ये स्याङ्जाको कालीगण्डकी गाउँपालिका ४ बिर्घाको मातृभूमि सामुदायिक पुस्तकालयका जोगप्रसाद पाण्डे पनि सम्मानित हुनुभएको हो । पुस्तकालय क्षेत्रमा विगत ३० वर्षदेखि निरन्तर लाग्नुभएका पाण्डेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्री अशोककुमार राईले सम्मानित गर्नुभएको थियो ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार ११:१५