१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

काठमाडाैँमा दुई जना मोटरसाइकल चोर पक्राउ पर्दा दुबै जना नुवाकोटका युवा

२० भदाै, काठमाडाैं । मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नुवाकाेट घर भइ हाल काठमाडाैं बस्ने दुई जनालाई मंगलबार काठमाडौँ महानगरपालिका १६ बालाजु स्थित चप्पलकारखानाबाट प्रहरीले पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा नुवाकोटको सुर्यगढी गाउँपालिका २ घर भइ हाल काठमाडौँको लोलाङ बस्ने ४५ वर्षीय दिपेन्द्र तामाङ र नुवाकोटकै लिखु गाउँपालिका २ घर भइ काठमाडौँको बाइपास बस्ने २८ वर्षीय सन्तोष घले रहेकाे ट्राफिक प्रहरीले जनाएको छ।

गत जेठ २ गते काठमाडौँको मनमैजुबाट बागमती प्रदेश ०२–०२७ प ७५ ८० नम्बरको र गत जेठ २९ गते काठमाडौंकै टोखा नगरपालिका १ झोरबाट बागमती प्रदेश ०२–०२२ प ४४ ५४ नम्बरको २ सय २० सिसिको पल्सर मोटरसाइकल हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन परेको थियो।

उक्त मोटरसाइकलहरु खोज्दै जाने क्रममा वास्तविक नम्बर परिवर्तन गरि प्रदेश ३-०२–००७ प ३३९९ नम्बर राखी चलाइरहेको अवस्थामा दिपेन्द्र तामाङलाई र बागमती प्रदेश ०२-०१८ प ०००८ नम्बर राखि चलाइरहेको अवस्थामा सन्तोष घलेलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायता ‍ईकाइबाट खटिएको टोलीले मोटरसाइकल सहित फेला पारी नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा आएका तामाङलाई प्रहरी वृत्त बालाजु र घलेलाई प्रहरी वृत्त महाराजगंजमा थप अनुसन्धान तथा कारबाहीका लागी पठाईएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार १३:२६