१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

दूध र पानीमा स्वच्छता कायम हुने गरी काम गर्न निर्देशन

१४ भदौ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले दूध र पानीको स्वच्छता कायम हुने गरी तत्काल काम थाल्न निर्देशन दिनुभएको छ । खुलारूपमा बिक्री गरिने दूध र पानीको गुणस्तर नहुने भन्दै उहाँले कृषि तथा पशुपक्षी विभागका अधिकारीलाई नियमित अनुगमन गर्न निर्देशन दिइसकेको जानकारी दिए । बजारबाट सङ्कलन गरिएका नमूना परीक्षणका लागि कामपाले आफ्नै प्रयोगशाला सञ्चालनको तयारी गरिरहेकाले प्रभावकारी नमूनाको परीक्षणका लागि निर्देशन दिइएको उपप्रमुख डङ्गोलले बताए । “हाम्रो चाहना भनेको स्वच्छ खानेकुराको उत्पादन, ढुवानी, सञ्चय तथा बिक्री गर्नु हो ।

यसमा किसानदेखि व्यापारीहरू सबैको लाभ हुने व्यवस्था मिलाउनुपर्छ”, उनले भने, “बजारलाई अस्वच्छ बनाउने र उपभोक्ताको स्वास्थ्य, मूल्य र गुणस्तरमा कहीँकतैबाट लापर्बाही गर्न पाइँदैन ।” कामपा कृषि तथा पशुपक्षी विभागका प्रमुख डा अवधेश झाले काठमाडौँमा बेचिने दूधको ७० प्रतिशत भार खुला बेचिने दूधले धानेकाले त्यसतर्फ निगरानी बढाउनुपर्नेमा जोड दिए । “खाद्य ऐन, २०२३ ले खाद्य पदार्थको उत्पादन, बिक्री वितरण, सञ्चय वा प्रशोधन गर्न चाहने व्यक्तिले तोकिएबमोजिम अनुज्ञापत्र लिनुपर्छ”, उहाँले भन्नुभयो, “खुलारूपमा बेचिने खाद्य वस्तु दूषित न्यूनस्तरको हुनसक्ने कामपाको ठहर छ ।”

गत आइतबार कामपाले अखाद्य पेय पदार्थ बिक्री वितरण गरेको भन्दै पुतलीसडकमा रहेको कालिञ्चोक ट्रेडिङलाई रू एक लाख ५० हजार जरिवाना तिराएको थियो । उपप्रमुख डङ्गोलले कामपाले पछिल्लो समय बजार अनुगमनलाई नियमित र व्यवस्थित गरिरहेको बताए । उहाँका अनुसार महानगरले गत साउन २८ गते निर्णय गरेर पानीपुरी, चटपटेजलगायत खुलारूपमा बेचिने खानेकुरा बेच्न प्रतिबन्ध लगाएको थियो । माछामासु, पानी, दूधजस्ता दैनिक उपभोग्य खाद्य तथा पेय पदार्थ, मासु पसल, दूध डेरी, तरकारी तथा फलफूलबाट चाँडो सङ्क्रमण फैलने भन्दै निगरानी बढाएको महानगरले जनाएको छ । कामपाले चालु आर्थिक वर्षमा अनुगमनलगायत स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमका लागि रू ९२ करोड ६६ लाख विनियोजन गरेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार १९:१०