१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

नेपाली नागरिकता लिन खोज्ने एक भारतीय पक्राउ

१३ भदौ, मध्यविन्दु  । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा नक्कली बुबा बनाई नेपाली नागरिकता लिन खोज्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत महाराजगञ्ज मधवलिययाका १९ वर्षीय राहुल कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए । पक्राउ परेका कुर्मी हाल नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका–९ अठलैयास्थित मामाघरमा बस्दै आएका थिए ।

“वडाबाट जन्मदर्ता सिफारिस लिई नागरिकताका लागि प्रहरी सर्जमिन मुचुल्का लिन आएका कुर्मीलाई शङ्का लागि सोधपुछ गर्दा भारतीय नागरिक भएको पुष्टि भएपछि नियन्त्रणमा लिइएको हो”, प्रहरी नायब उपरीक्षक पाण्डेले भने ।

राहुलले प्रतापपुर–६ कठहवा बस्ने गौरीशङ्कर कुर्मीलाई बुबा बनाई नागरिकता लिन लागेका थिए । “निज व्यक्तिले ६ नम्बर वडा कार्यालयबाट बनाएको जन्मदर्ता, नागरिकता सिफारिस तथा इलाका प्रशासन कार्यालय सेमरीबाट पठाइएको स्थलगत नागरिकता सर्जमिन मुचुल्काको पत्र नियन्त्रणमा लिएको छ”, उनले भने ।

पक्राउ परेका कुर्मीलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी नागरिकतासम्बन्धी कसुर उद्योगमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार १४:००