नेपाल टेलिकमको सीडीएमए फिक्स्ड फोन प्रयोगकर्तालाई आकर्षक अफर
३१ साउन, काठमाडाैं । दूरसञ्चारको क्षेत्रमा भएका वाइम्याक्स, सीडीएमएलगायत वायरलेस सेवाका विभिन्न प्रविधिहरु सबै जीएसएमअन्तर्गतको एलटीई प्रविधिमा एकीकृत हुँदै आएका छन्। यसकारण विश्वव्यापी रुपमै सीडीएमए सेवाका प्रयोगकर्ता घट्दै गएका र यो क्रम नेपालको दूरसञ्चार बजारमा समेत देखिएको छ।
प्रविधिको विकासक्रमअनुसार विश्वव्यापी रुपमा फोरजी/एलटीईको प्रयोग बढ्दै गएको र सीडीएमए प्रविधिको थप अनुसन्धान र विकास नभई उपकरण उत्पादनमा समेत कमी आइरहेको अवस्था छ। नेपाल टेलिकमले प्रदान गरेको सीडीएमए सेवाका ग्राहकसमेत फोरजी/एलटीईमा आकर्षित हुँदै गएका र कम्पनीले पनि त्यसैअनुसार कभरेज र सेवासमेत विस्तार गरिरहेको छ। पछिल्लो समयमा कम्पनीले सीडीएमए सेवालाई बन्द गर्ने र ती ग्राहकलाई जीएसएममा रुपान्तरण हुँदा आकर्षक प्याकेज उपलब्ध गराउने व्यवस्था गर्दै आएको छ।
यसै सन्दर्भमा नेपाल टेलिकमले सीडीएमए फिक्स्ड फोन प्रयोगकर्तालाई फोरजी/एलटीई नेटवर्कमा स्थानान्तरण गर्नका लागि आकर्षक प्याकेज उपलब्ध गराउने भएको छ। यो प्याकेज आगामी भदौ १ देखि लागू हुनेछ।
सीडीएमए फिक्स्ड फोन प्रयोग गरिरहेका ग्राहकले नेपाल टेलिकमको नमस्ते वाईफाई प्रयोग गर्न सक्नेछन्। ती ग्राहकका लागि अनलिमिटेड बेसिक र अनलिमिटेड प्रिमियममध्ये एक प्याकेज प्रयोग गर्न सकिने सुविधाका साथै अन्य थप सुविधासमेत उपलब्ध गराइनेछ।
यो सेवा प्रयोग गर्ने ग्राहकलाई अनलिमिटेड बेसिकअन्तर्गत दैनिक रुपमा ५ एमबीपीएस गतिसम्मको १० जीबी डाटा उपलब्ध हुनेछ। सो प्याकेजका लागि नयाँ जडान शुल्क अर्धवार्षिक अवधिका लागि रु. ५ हजार ९९९ र वार्षिक अवधिका लागि रु. १० हजार ४९९ हुनेछ।
त्यसैगरी यसको महसुल अर्धवार्षिक अवधिका लागि रु. ४ हजार ९९९ र वार्षिक अवधिका लागि रु. ९ हजार ४९९ हुनेछ। त्यसैगरी अनलिमिटेड प्रिमियम अन्तर्गत दैनिक रुपमा १० एमबीपीएस गति सम्मको १५ जीबी डाटा उपलब्ध हुनेछ। सो प्याकेजका लागि नयाँ जडान शुल्क अर्धवार्षिक अवधिका लागि रु. ८ हजार ९९९ र वार्षिक अवधिका लागि रु. १६ हजार ४९९ हुनेछ।
त्यसैगरी यसको महसुल अर्धवार्षिक अवधिका लागि रु. ७ हजार ९९९ र वार्षिक अवधिका लागि रु. १५ हजार ४९९ हुनेछ। यी सबै प्याकेज लिने ग्राहकलाई थप रकम नलिई आवश्यक फोरजी÷एलटीई सीपीईसमेत उपलब्ध गराइने कम्पनीले जनाएको छ।
नयाँ जडानअन्तर्गत यसरी अर्धवार्षिक अवधिको प्याकेज लिने ग्राहकलाई प्रतिमहिना ४०० मिनेट कम्पनीको नेटवर्कभित्र (अन–नेट) र १०० मिनेट अन्य नेटवर्कमा (अफ–नेट) तथा वार्षिक प्याकेज लिने ग्राहकलाई प्रतिमहिना कम्पनीको नेटवर्कभित्र अनलिमिटेड र अन्य नेटवर्कमा १०० मिनेट कल गर्ने सुविधा उपलब्ध हुनेछ।
यसरी उपलब्ध हुने १० जीबी वा १५ जीबी डाटा सकिएको अवस्थामा उच्च गतिको डाटा चलाउन चाहनेहरुका लागि रु. ५० मा २४ घन्टा समयावधिसम्म चलाउन मिल्ने १० जीबी डाटा एड अन प्याकका रुपमा उपलब्ध हुनेछ।
नेपाल टेलिकमले पहिलेदेखि नै सीडीएमए प्रिपेड वा पोस्टपेड प्रयोगकर्तालाई जीएसएम प्रिपेड वा पोस्टपेडमा रुपान्तर हुँदा ‘सीडीएमए माइग्रेसन प्याकेज’ उपलब्ध गराइरहेको छ। यदि सीडीएमए फिक्स्ड फोन प्रयोगकर्ताले माथिको प्याकेज लिन नचाहेमा सोहीअनुसारको सीडीएमए माइग्रेसन प्याकेज लिन सकिनेछ। यसअन्तर्गत प्रिपेड ग्राहकलाई मासिक रुपमा ३०० मिनेट अन–नेट भ्वाइस कल गर्न, ४ जीबी डाटा चलाउन र ३०० अन–नेट एसएमएस पठाउने सुविधा ६ महिनासम्म उपलब्ध हुनेछ।
त्यसैगरी पोस्टपेड ग्राहकलाई मासिक रुपमा ४०० मिनेट अन–नेट भ्वाइस कल गर्न, ५० मिनेट अफ–नेट भ्वाइस कल गर्न, ६ जीबी डाटा चलाउन र २०० अन–नेट एसएमएस पठाउने सुविधा ६ महिनासम्म उपलब्ध हुनेछ।
प्रविधिको विकाससँगै नयाँ प्रविधिले पुरानो प्रविधिलाई प्रतिस्थापन गर्ने विश्वव्यापी लहरलाई पछ्याउँदै कम्पनी पनि पुरानो प्रविधिलाई नयाँ प्रविधिले प्रतिस्थापन गर्दै भरपर्दो तथा उच्च गुणस्तरीय सेवा उपलब्ध गराउन कटिबद्ध रहेको छ। यसअनुसार नेपाल टेलिकमले गत २०८० असार मसान्तदेखि लागू हुने गरी कम्पनीद्वारा सञ्चालित सीडीएमए सेवा बन्द गरेको छ।
प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार १६:३२