२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

नेपाली टोली थाइल्याण्डमा हुने एएफसी यू–१९ महिला च्याम्पियनसिपको दोस्रो चरणमा प्रवेश

१२ कात्तिक, काठमाडाैँ । नेपाली टोली आगामी २०१९ अप्रिलमा थाइल्याण्डमा हुने एएफसी यू–१९ महिला च्याम्पियनसिपको दोस्रो चरणमा प्रवेश गरेको छ ।

थाइल्याण्डमा हिजो भएको पहिलो समूहको अन्तिम खेलमा भारतले आयोजक थाइल्याण्डलाई १–० गोलअन्तरले पराजित गरेतापनि नेपाल हेड टु हेडका आधारमा दोस्रो चरणमा छनोट प्रवेश गरेको हो । हिजै भएको खेलमा नेपालले पाकिस्तानलाई ९–० गोलअन्तरले पराजित गरेको थियो ।

त्यसअघि भएको समूहको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३–० ले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले भारतलाई २–० गोलअन्तरले पराजित गरेको थियो ।

नेपालले पहिलो पटक एएफसी यू–१९ च्याम्पियनसिपको छनोटमा सहभागिता जनाएको हो । पहिलो सहभागितामा नै नेपाली टोलीले ऐतिहासिक नतिजा प्राप्त गरेको हो । अब अन्तिम चरणमा छनोट हुन नेपालले अप्रिलमा हुने छनोट चरण पार गर्नुपर्नेछ ।

च्याम्पियनसिप छनोटमा विभिन्न छ समूहका विजेता र उपविजेतामध्ये उत्कृष्ट प्रदर्शन गर्ने दुई राष्ट्रले दोस्रो चरण खेल्न पाउनेछन् । थाइल्याण्ड एएफसी यू–१९ महिला च्याम्पियनसिप आयोजकको नाताले यसअघि नै अन्तिम चरणमा छनोट भइसकेको छ । थाइल्याण्ड समूह विजेता, नेपाल समूह उपविजेता र भारत तेस्रो स्थानमा रहेको छ । थाइल्याण्ड समूह विजेता भएसँगै नेपाल अन्तिम चरणमा छनोट हुने पक्का भएको हो ।

प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार ०७:३२