१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

जेल फोडेर भाग्न खोजेका नुवाकोटका बलामीसहित दुई कैदीको कुटपिटबाट मृत्यु

२५ साउन, काठमाडाैँ । संखुवासभा जिल्ला कारागारमा झ्याल फोडेर भाग्न खोजेका दुई कैदीको कुटपिटबाट मृत्यु । शाैचालयको झ्याल फोडेर भाग्न खोजेका उनीहरूको कुटपिटबाट मृत्यु भएको हो । संखुवासभा जिल्ला कारागारमा कैदीबन्दीबीच मंगलबार राति १ बजे शौचालयको झ्याल फोडेर भाग्न खोजेका नुवाकोट ककनी १ का आकाश बलामी संखुसभाकै मादी नगरपालिका–५ का विनोद तोलाङीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार झ्याल फोडेर भाग्न खोजेका उनीहरूलाई राति नै नियन्त्रणमा लिएर कारागार प्रशासनमा बुझाइएको थियो । दुबै जना बुधबार बिहान अर्धचेत अवस्थामा कारागारभित्र भेटिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।

अर्धचेत अवस्थामा भेटिएका दुबैजनाको खाँदबारी अस्पताल पुर्याइएपछि मृत घोषित गरिएको थियो । २५ जना क्षमताको उक्त कारागारमा १३६ भन्दा बढी कैदीबन्दी रहेका छन । बलामी र तोलाङी झ्याल फोरेर भाग्न असफल भएपछि त्यहाँ रहेका अन्य कैदीसँग कुटाकुट भएको प्रहरीले जनाएको छ । कुटाकुटकै क्रममा उनीहरूको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।

काराकारभित्रै कैदीको कुटपिटमा परी मृत्यु भएपछि जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए । मृत्यु हुने २८ वर्षीय बलामी चोरी मुद्दाको सजाय भोगिरहेका थिए भने १९ वर्षीय तोलाङी बालत्कार मुद्दामा सजाय भोगिरहेका थिए ।

प्रहरीले अनुसन्धानका लागि कैद सजाय भुक्तान गरिरहेका ७ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारका अनुसार बुधबार दिउँसो १ सय ३६ कैदीबीच फेरि झडप भएको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार १०:३६