८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

सूर्य नेपालको व्यापार २७ अर्ब नाघ्यो, १० अर्ब लाभांश घोषणा

२४ साउन, काठमाडौं । सूर्य नेपाल प्रा. लिको कारोबार १०.२९ प्रतिशत अर्थात् २ अर्ब ५२ करोड २० लाख रुपैयाँ बढेको छ । रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालका अनुसार कम्पनीले एक वर्षमा साढे २ अर्ब रुपैयाँ कारोबार बढाएर २७ अर्ब रुपैयाँ बराबरको ब्यापार गरेको हो ।

कम्पनीले २०२१ मा २४ अर्ब ४९ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । जुन एक वर्ष अर्थात् सन् २०२२ मा साढे २ अर्ब रुपैयाँ बढेर २७ अर्ब १ करोड ४० लाख रुपैयाँ पुगेको हो । त्यसअघि सन् २०२० मा कम्पनीले २४ अर्ब ४७ करोड १० लाख रुपैयाँ बाबरको कारोबार गरेको थियो । कम्पनीले २०२१/२२ को नाफाबाट १० अर्ब ४० करोड ३० लाख रुपैयाँ लाभांश दिने घोषणा गरेको छ।

कम्पनीमा ५९ प्रतिशत सेयर स्वामित्व भारतको आइटीसी लिमिटेडको छ। ३९ प्रतिशत सेयर नेपालका विभिन्न व्यक्ति तथा संस्थाहरुको नाममा छ। बाँकी २ प्रतिशत भने बेलायतको ब्रिटिस अमेरिकन टोबाको (इन्भेष्टमेन्ट) लिमिटेडको छ। सूर्य नेपालले चुरोट, सलाई, धुप, कन्फेक्सनरीहरु उत्पादन गर्दै आएको छ।

सूर्य नेपालले ३५ वर्षदेखि सूर्य लिजेन्ड, सूर्य २४ क्यारेट, सूर्य लक्जरी किङ्स, शिखर फिल्टर किङ्स, शिखर आइस, नौलो, खुकरी फिल्टर, पाइलट फिल्टर, बिजुली र चौतारी ब्रान्डका चुरोट उत्पादन गरिरहेको छ । कम्पनीसँग देशभर एक सय भन्दा बढी वितरक छन्।

कम्पनीले बैंकबाट ५ अर्ब ७५ करोड रुपैयाँ बराबरको अल्पकालीन कर्जा लिने भएको छ । जसको लागि केयर रेटिङ नेपालले केयर एनपी ए वान प्लस रेटिङ प्रदान गरेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार १३:५५