३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

माथिल्लो मैलुङ जलविद्युत् आयोजनाकाे सेयर बाँडफाँडमा पुनरावलोकन गर्न माग

२३ साउन, रसुवा । दक्षिणी रसुवाको उत्तरगया गाउँपालिकामा निर्माणाधीन माथिल्लो मैलुङ जलविद्युत् आयोजनाले रसुवावासीलाई छुट्याएको सेयर सङ्ख्या (कित्ता) बाँडफाँडमा पुनरावलोकन गर्न माग गरिएको छ ।

जिल्ला समन्वय समिति रसुवाले जिल्लावासीलाई छुट्याएको सेयर सङ्ख्या नियमसङ्गत नभएको जनाउँदै पुनरावलोकन गर्न सो आयोजनालाई आग्रह गरेको हो । कुल सेयर सङ्ख्याको १० प्रतिशत रसुवावासीलाई उपलब्ध गराउनुपर्ने कानुनी प्रावधानलाई आयोजनाले बेवास्ता गर्दै निष्कासन गर्न लागिएको सेयर अत्यन्तै न्यून सङ्ख्यामा निर्धारण भएको समन्वय समितिले जनाएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरेका अनुसार १४ दशमलव तीन मेगावाट क्षमताको माथिल्लो मैलुङ जलविद्युत् आयोजनाले सेयर बाँडफाँडका विषयमा जिल्लास्तरमा छलफल गरेको छैन । उनले सेयर बाँडफाँडको पुनरावलोकन गराउन जिल्लाको सर्वदलीय बैठकमार्फत आयोजनालाई अनुरोध गरिएको बताए ।

जिल्लाको उत्तरगया गाउँपालिकाको करूम्राङबाट उत्तर पाखामा सो आयोजनाले आफ्नो कार्यक्षेत्र बनाएको छ । आयोजनाले आफ्नो कार्यक्षेत्र बाहिर गएर नुवाकोटको किस्पाङ गाउँपालिकाको साविक मनकामना गाविसलाई कुन आधारमा प्रभावित क्षेत्र बनायो भन्ने विषयमा समेत सो बैठकको सहभागी सदस्यले प्रश्न उठाएका थिए ।

रसुवावासीका लागि भने आयोजनाले एक लाख ४२ हजार आठ सय ५० कित्ता सेयर तोकेको बताइएको छ । आयोजनाले रसुवा र नुवाकोटको भू–भागका प्रभावित र अतिप्रभावितलाई भने आठ लाख ५७ हजार एक सय ५० कित्ता निष्कासन सूचीमा देखाएको भए पनि कुन जिल्लालाई कति हो भन्ने प्रस्ट नभएको बताइएको छ । रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले भने सेयर निष्कासन गर्नुपूर्व जिल्लास्तरमा सर्वपक्षीयको भेलाको आयोजना गरेका थिए ।

प्रकाशित मिति : 09:58