१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

विकास र समृद्धिका लागि शान्ति सुरक्षा अपरिहार्यः मुख्यमन्त्री शाही

११ कात्तिक,सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विकास र समृद्धिको सपना साकार पार्न शान्ति सुरक्षा अपरिहार्य भएको बताउनुभएको छ । शान्ति सुरक्षालाई अलग राखेर विकास र समृद्धिको अभियान पूरा नहुने बताउँदै मुख्यमन्त्री शाहीले शान्ति सुरक्षालाई विकास अभियानसँग जोड्न जरुरी रहेको छ भन्नुभयो ।

‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ नारासहित आइतबारदेखि शुरु भएको समुदाय–प्रहरी साझेदारी अभियानको आज सुर्खेतको वीरेन्द्रनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले समुदायको सुरक्षा समुदायकै सरोकार भएकाले शान्ति सुरक्षा कायम गर्न प्रहरीसँग सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो ।

सुरक्षाको प्रत्याभूतिबिना समाजमा कसैले पनि केही काम गर्न नसक्ने भन्दै मुख्यमन्त्री शाहीले नागरिकको मौलिक हकका रुपमा रहेको शान्ति सुरक्षाको प्रत्याभूति दिन प्रहरी थप जिम्मेवार हुनुपर्ने बताउनुभयो । मुख्यमन्त्री शाहीले सङ्घीय प्रहरी ऐन निर्माणमा भएको ढिलाइका कारण प्रदेश सरकारले शान्ति सुरक्षाको जिम्मेवारी लिन नसकेको प्रष्ट गर्नुभयो ।

‘‘ऐन नबनेका कारण प्रदेश सरकार प्रहरीविहीन छ’’ मुख्यमन्त्री शाहीले भन्नुभयो, “शान्ति सुरक्षाको जिम्मेवारी प्राप्त भएको १५ दिनभित्रै जनताले महशुस गर्ने गरी काम हुन्छ ।”कार्यक्रममा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले भयरहित र सुरक्षित समाज निर्माणका लागि हरेक नागरिकको दायित्व भएको बताउँदै समुदाय र प्रहरीको साझेदारीले मात्र सुरक्षित समाज निर्माण हुने उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : ११ कार्तिक २०७५, आईतवार १८:४९