शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्न समुदाय र प्रहरी साझेदारी कार्यक्रम सुरु
११ कात्तिक, काठमाडौं । शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यका साथ नेपाल प्रहरीले आइतबारबाट राष्ट्रव्यापी रुपमा ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन गरेको हो । गृहमन्त्री रामबहादुर थापाले काठमाडौंमा एक समारोहका बीच कार्यक्रमको शुभारम्भ गर्दै मुलुकलाई समृद्ध बनाउन यसले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
दिगो शान्ति कायम गरी मुलुकलाई समृद्ध बनाउने सरकारको लक्ष्य हासिल गर्न नेपाल प्रहरीले सो कार्यक्रम संचालन गरेर ऐतिहासिक योगदान दिने पहलकदमी गरेको पनि गृहमन्त्री थापाले स्पष्ट पार्नु भयो । शान्तिपूर्ण र सुरक्षित समाजका लागि सो कार्यक्रम ऐतिहासिक हुने गृहमन्त्री थापाको भनाइ छ ।
कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा दिगो शान्ति स्थापना गर्न सो कार्यक्रम सञ्चालन गर्न लागेको बताए । उनले चार महिनाको गहन अध्ययनपछि सञ्चालन गरिएको सो कार्यक्रमले समाजमा दिगो शान्ति कायम गर्ने विश्वास व्यक्त गरेका छन् ।
केन्द्र, सबै प्रदेश र ७७ वटै जिल्लामा एक साथ सञ्चालन गरिएको सो कार्यक्रमले शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ । ‘हर प्रहर, गाउँ नगरीः टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नारा तय गरिएको सो कार्यक्रम देशभरका टोल टोलमा सञ्चालन गरिनेछ ।
मुलुकमा हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना बढ्दै गइरहेका बेला समुदायसँग मिलेर त्यस्ता जघन्य अपराधका घटना नियन्त्रण गर्न नेपाल प्रहरीले सो कार्यक्रम सञ्चालन गरेको हो ।
प्रकाशित मिति : ११ कार्तिक २०७५, आईतवार १४:४८