२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

संसदीय समितिमा सभापति चयन नगरे बैठकमा सहभागी नहुने योगेश भट्टराईको चेतावनी

१४ साउन, काठमाडौं । सांसद एवं प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव योगेश भट्टराईले संसदीय समितिमा सभापति चयन नगरे एमाले समितिका बैठकमा सहभागी नहुने चेतावनी दिएका छन् । सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठकमा एमाले सचिव भट्टराईले संसदीय समितिले पूर्णता नपाएसम्म एमाले समितिका आगामी बैठकमा सहभागी नहुने स्पष्ट पारे ।

संसदीय प्रक्रियाअनुसार संसद् र समितिहरु चल्न नसकेको भन्दै उनले गठबन्धनका कारण समितिहरुले पूर्णता पाउन नसकेको दाबी गरे । “सत्तारुढ गठबन्धनका कारण सिर्जना भएको समस्याको भारी प्रतिपक्षले बोक्न चाहन्न”, उनले भने, “संसदीय प्रक्रियाअनुसार समितिले पूर्णता नपाए सम्भवत हामी समितिका यसपछिका कुनै पनि बैठकमा उपस्थित हुँदैनौँ । सभापतिलाई यसबारे अग्रिम जानकारी गराउन चाहन्छौँ ।”
संसद् प्रभावकारीरुपमा चल्न नसक्दा मुलुकको राष्ट्रिय एकताको प्रतीक संसद् र संविधान बन्न नसकेको उनले बताए । “प्रतिपक्षी दल एमालेले कुनै भागबन्डा मागेको छैन । यद्यपि लेखा समितिको सभापति प्रतिपक्षले पाउनुपर्ने अभ्यास छ । गठबन्धनले यो पनि दिन चाहँदैन भने हामीलाई चाहिँदैन । तर संसदीय प्रक्रिया पूरा गरेर अघि बढ्नुपर्छ”, उनले भने । समितिले काम सुरु गरेको तीन महिनासम्म पनि सभापति चयन हुन नसक्नु राम्रो नभएको उनको भनाइ छ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आईतवार १५:२७