थोरै क्षेत्रफलमा धेरै बाघ रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
१३ साउन, दोधारा चाँदनी । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघका लागि थोरै क्षेत्रफल भए पनि यहाँ ३६ बाघ छन् । विश्वकै दुर्लभ मानिने बाह्रसिङ्गाको झुण्ड देख्न पाइने शुक्लाफाँटा पाटेबाघका लागि प्रख्यात हुन थालेको छ ।
तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस निकुञ्जमा बाघका लागि पर्याप्त आहारा, गुणस्तरीय बासस्थानलगायतको उचित व्यवस्थाले बाघको संख्या बढ्दै गएको निकुञ्ज कार्यालयले जनाएको छ ।
निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले तराईका अन्य राष्ट्रिय निकुञ्जमा भन्दा शुक्लाफाँटामा धेरै बाघ रहेको बताउनुभयो । “यहाँ बाघका लागि खाना र बासस्थानको राम्रो व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “आहाराका प्रजाति धेरै भएकाले पनि यहाँ बाघको सङ्ख्या बढेको हो ।”
शुक्लाफाँटाभित्र रहेका ठूलो घाँसेमैदान, तालतलैया र प्रशस्त आहाराका लागि प्रजाति बढेसँगै बाघको सङ्ख्या पनि बढेको ऐरले बताउनुभयो । उहाँका अनुसार निकुञ्जमा बाघको प्रमुख आहाराका रुपमा बाह्रसि¬ङ्गा, रतुवा, चित्तल र बँदेल छन् ।
“निकुञ्जभित्र प्राकृतिक ताल र तीन वटा ठूला नदीहरु छन्”, ऐरले भन्नुभयो, “यस बाहेक निकुञ्ज कार्यालयले १४ कृत्रिम तालसमेत बनाएको छ । वन्यजन्तुलाई प्यास मेटाउन पानीको अभाव छैन ।” उहाँका अनुसार निकुञ्ज क्षेत्रमा चौधर, स्याली र महाकाली नदी छन् । चौधर नदी यहाँका वन्यजन्तुका लागि प्यास मेटाउने प्रमुख पानीको स्रोत रहेको निकुञ्जले जनाएको छ ।
पछिल्ला केही वर्षयता शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चोरीसिकार नियन्त्रण भई आहारा प्रजातिको उपलब्धता भएकाले बाघको सङ्ख्या ६ वर्षमा दोब्बर पुगेको राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले जानकारी दिनुभयो । “पछिल्लो समय चोरीसिकार नियन्त्रण र आहारा प्रजाति निकै राम्रो भएकाले अहिले बाघ दोब्बरले वृद्धि भएको हो”, उहाँले भन्नुभयो ।
जोशीका अनुसार निकुञ्ज प्रशासन, नेपाली सेना र मध्यवर्ती क्षेत्रका उपभोक्ता समिति निकुञ्ज संरक्षणमा लागेका छन् । निकुञ्जमा सन् २०१३ को गणनाअनुसार १७ बाघ रहेकामा सन् २०२२ को गणनामा यो सङ्ख्या बढेर ३६ पुगेको हो । निकुञ्जको वरिपरि मानव बस्ती भए पनि बाघ र मानवबीच द्वन्द्व नरहेको निकुञ्ज कार्यालयले जनाएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सन् २००८ देखि स्वचालित क्यामरा प्रविधिबाट बाघ गणना तथा अनुगमन भइरहेको छ । रासस
प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार १६:०९