७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

कर नतिरेपछि ४६ व्यवसायीको बैंक खाता रोक्का

१२ साउन, तनहुँ । तनहुँको दमौलीस्थित आन्तरिक राजस्व कार्यालयले आयकर, मूल्य अभिवृद्वि कर र अन्तःशुल्कतर्फको कर नबुझाएका ४६ उद्योगी व्यवसायीको बैंक खाता रोक्का गरेको छ । तनहुँ, लमजुङ र गोरखाका उद्योगी व्यवसायीको बैंक खाता रोक्का गरेको हो ।

तनहुँका २७, लमजुङका १३ र गोरखाका ६ व्यवसायीको खाता रोक्का गरिएको कार्यालयका सुब्बा रामकाजी गुरुङले जानकारी दिए। “अधिकांश उद्योगी व्यवसायी कार्यालयको सम्पर्कमा आएका छैनन् । कतिपयले भ्याटको अद्यावधिकसमेत नगरेको पाइएको छ”, उनले भने ।

कार्यालयले २०८० वैशाख ५ गते पहिलोपटक सूचना प्रकाशित गरी १५ दिनभित्र बक्यौता रकम दाखिला गर्न अनुरोध गरेको कार्यालयका निमित्त प्रमुख लोकेन्द्र राईले जानकारी दिए। व्यवसायीको आम्दानी स्रोतको खोजी गरी त्यहीबाट कट्टा गराई बक्यौता रकम दाखिला गराउने अभियान थाल्ने उनले बताए । उक्त कार्यबाट पनि दाखिला गराउन नसके निजको चलअचल सम्पत्तिसमेत रोक्का गरी दाखिला गराउन सकिने व्यवस्था छ ।

बहत्तर हजार बढी करदाता

तनहुँमा ७२ हजार चार सय ४७ करदाता रहेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७९/८० मा करिब १० प्रतिशत करदाता वृद्वि भएको आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी टीकाराम पौडेलले जानकारी दिए ।

पछिल्लो समय नागरिकमा प्यान नम्बर लिएर मात्रै कारोबार गर्नुपर्छ भन्ने चेतनाको वृद्वि हुँदै गएको छ । प्यान नम्बर लिनेमा कर्मचारीतर्फ ४४ हजार दुई सय ८४ र व्यापारीतर्फ २३ हजार चार सय ३७ जना रहेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार ११:५१