पुरानो लाभांश बुझिलिन सेयरधनीहरुलाई सोल्टी होटेलको आग्रह
१२ साउन, काठमाडाैं । सोल्टी होटलले पुरानो लाभांश लिन सेयरधनीहरुलाई आग्रह गरेको छ । होटलले यसअघिका विभिन्न साधारणसभाबाट पारित भएको लाभांश हालसम्म नलिएका सेयरधनीहरुलाई लिन आग्रह गरेको हो ।
चालु आर्थिक वर्षसम्म ३ हजार ९४१ जना सेयरधनीहरुले ६२ लाख ७० हजार रुपैयाँ बराबरको लाभांश रकम लिन बाँकी रहेकाे कम्पनीले जनाएको छ ।
लाभांश रकम लिन बाँकी रहेका सेयरधनीहरुको विवरण सोल्टी होटेलको वेबसाइटमा राखिएको सूचनामा उल्लेख छ। नगद लाभांश लिन बाँकी रहेका सेयरधनीहरुले आवश्यक कागजपत्रसहित सेयर रजिस्ट्रार एनआईएमबि एस क्यापिटलमा सम्पर्क गरी लिन सक्ने कम्पनीले जनाएको छ।
साथै, सेयर प्रमाणपत्र हालसम्म अभौतिकिकरण (डिम्याट) नगरेका सेयरधनीहरुले यथाशीघ्र डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्य (डिपि)मा सम्पर्क गर्नुपर्नेछ । साथै, बैंक तथा वित्तीय संस्थामा रहेको बैंक खाता नम्बर सहितको विवरण अद्यावधिक गराएपछि नगद लाभांश रकम सो बैंक खातामा रकमान्तरण गरिने कम्पनले जनाएको छ ।
पाँच वर्षसम्म कुनै लगानीकर्ताको दाबी प्रस्तुत हुन नआएको खण्डमा लाभांश रकम ऐनअनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने भएकोले हालसम्म पनि लाभांश रकम लिन छुटेका लगानीकर्तालाई बुझिलिन कम्पनीले अनुराेध गरेकाे हाे ।
प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार १०:३७












