शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको बस्ती प्रवेश शुल्क बढाइएकामा स्थानीयवासीको गुनासो
१० कात्तिक,काठमाडौँ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको बस्ती प्रवेश गर्न शुल्क बढाउँदा आवतजावतमा समस्या भएको स्थानीयवासीको गुनासो छ । वन तथा वातावरण मन्त्रालयले असोज २९ गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरी वन क्षेत्रको गैरकर बढाएको थियो । यसअघि रु ५७ मा प्रवेश दिने गरिएकामा हाल रु ११८ पु¥याइएको गोकर्णेश्वर नगरपालिका वडा नं १ का अध्यक्ष राम मानन्धरले बताउनुभयो ।
“निकुञ्जभित्र बस्ती भएका स्थानीयवासीलाई पनि प्रवेशद्वारमा कागजात मागिन्छ, कागजात नभए रु ११८ लिँदा आवतजावतमा समस्या भएको छ, शुल्क बढाउँदा निकुञ्ज क्षेत्रका स्थानीय तहसँग कुनै छलफल भएन”, उहाँले भन्नुभयो ।
वडा नं १ अन्तर्गत सिन्धुपाल्चोक र नुवाकोटसँग सीमा जोडिएका ओखरेनी, चिलाउने, कुने, मूलखर्कलगायत बस्ती छन् । निकुञ्ज प्रवेश गरेको शुल्क रु ५७ बनाउनुअघि रु १० थियो । निकुञ्ज प्रवेश गर्ने सडक निर्माण र मर्मत सम्भार भने स्थानीय तहले नै गर्दै आएको वडाअध्यक्ष मानन्धरले जानकारी दिनुभयो ।
निकुञ्ज कार्यालयका प्रमुख कमलजङ्ग कुँवर भने सबै बढाइएको मात्र नभई केही शुल्क घटाइएको बताउनुहुन्छ । यसअघि साइकल लिएर जाने नेपाली नागरिकलाई रु १०० लिइन्थ्यो । हाल घटाएर रु २० मा झारिएको छ । विदेशीले साइकल लिएर जाँदा भने रु १०० तिर्नुपर्छ ।
“निकुञ्जभित्र बसोवास गर्नेसँग प्रवेशमा शुल्क लिइँदैन, बाहिरका मानिससँग शुल्क लिई मध्यवर्ती क्षेत्रमा बसोबास गर्नेलाई जम्मा उठेको रकमको आधा दिइन्छ, गत आर्थिक वर्षमा रु दुई करोड ३५ लाख उठेको थियो, यस वर्ष यसको दोब्बर सङ्कलन गर्ने लक्ष्य छ”, उहाँले भन्नुभयो ।
निकुञ्ज काठमाडौँ, नुवाकोट र सिन्धुपाल्चोक गरी तीन जिल्लामा फैलिएको छ । निकुञ्ज प्रवेश गर्ने विदेशीसँग भने रु एक हजार १०० लिइन्छ । निकुञ्जभित्रको बस्तीमा बाँदर, बँदेलजस्ता जङ्गली जनावरले खेत बारीमा लगाएको बाली खाइदिन्छ । जसले गर्दा पुस्तौँदेखि थातथलोमा बस्दै आएकालाई जीवन धान्न धौधौ हुने गरेको छ ।
प्रकाशित मिति : १० कार्तिक २०७५, शनिबार १८:४७












