३० असार २०८१, आईतवार | Sun Jul 14 2024

खानेपानी र सरसफाइः स्वास्थ्य र स्वच्छताको अपरिहार्य तत्व


-अनिश न्यौपाने

पानी जीवन हो । सरसफाइ जीवनको पद्धति हो । स्वस्थ रहनका लागि स्वच्छता अपरिहार्य तत्व हो । खानेपानी र सरसफाई आधारभूत मानवीय आवश्यकताहरू हुन । देशभरका नागरिकलाई स्वच्छ पानीको अवस्था हेर्ने हो भने करिब ५२ प्रतिशत घरधुरीमा पाइप प्रणालीको पहुँच छ भने ३४ प्रतिशत घरधुरी ट्युवेलमा आश्रित छन् । अझै पनि करिब १० प्रतिशत घरधुरीमा खानेपानीको पहुँच छैन ।

नेपालका करिब १० प्रतिशत घरधुरी अर्थात् करिब ३० लाख जनसंख्या अहिले पनि पिउने पानीका लागि छट्पटिनुपर्ने अवस्था रहेको छ । ती नागरिकको छटपटीले न आधारभूत खानेपानीको जिम्मेवारी लिएको स्थानीय सरकारलाई छुन्छ न त प्रदेश र संघीय सरकारले कुनै चासो देखाएको छ । हाल नेपालमा ४२ हजारभन्दा बढी खानेपानी आयोजनाहरु रहेका छन्, जसमध्ये २८.१३ प्रतिशत मात्र पूर्ण रुपमा सुचारु छन् । करिब एक तिहाई आयोजना (१४,२०४ वटा) ठूलो मर्मत गर्नुपर्ने, पुनःस्थापना गर्नुपर्ने र पुनःनिर्माण गर्नुपर्ने अवस्थामा छन् । नेपालको तराई मधेशमा खानेपानीको मुख्य श्रोतको रुपमा रहेका ट्युबवेलहरु करिब १३ लाखको हाराहारीमा छन् । यसमध्ये पनि जिल्ला अनुसार २२ प्रतिशतदेखि ३८ प्रतिशतसम्म उपयोग विहिन अवस्थामा रहेका छन् ।

तथ्याङ्ंक अनुसार खानेपानीको पहुँच पुगेकाहरुमध्ये करिब एक तिहाइ जनसंख्या अर्थात् करिब ८१ लाख व्यक्ति अहिले पनि खानेपानी सुविधाबाट वञ्चित छन्, खानेपानी तथा सरसफाइजन्य रोगहरू पाँच वर्ष मुनिका बालबालिकाहरूको मृत्युको मुख्य कारणहरू मध्येको एक हो । “नेपालको १ करोड ८ लाख जनसंख्यासँग उपयुक्त सरसफाइको सुविधा उपलब्ध छैन र ३५ लाखसँग आधारभूत खानेपानीको सुविधा उपलब्ध छैन ।”

गरिबी, कठिन भु–बनोट र द्वन्द्वजस्ता चुनौतीहरू हुँदाहुँदै पनि खानेपानी तथा सरसफाइको सुविधा विस्तारमा नेपालले विगतका केहि दशकहरुमा उल्लेखनीय प्रगति हासिल गरेको छ । सन् १९९० मा ४६ प्रतिशत घरधुरीसँग खानेपानीको सुविधा रहेकोमा हाल ९५ प्रतिशतसम्म खानेपानीको पहुँच छ । त्यसैगरी सन् १९९० मा ६ प्रतिशतबाट वृद्धि भई हाल ६२ प्रतिशतसँग सरसफाइको सुविधा उपलब्ध छ । तथापी निम्न चुनौतीहरू अझै बाँकी नै छन् खानेपानीको गुणस्तर र वितरण प्रणाली भने कमजोर रहेको छ।

उपलब्ध तथ्यांकअनुसार, सबै खानेपानीका श्रोतहरू मध्ये सम्पूर्ण जनसंख्याले प्रयोग गर्ने मध्ये ७१% र विपन्न समुदायले प्रयोग गर्ने मध्ये ९१% खानेपानीमा इकोली ब्याक्टेरिया पाईएको छ । खानेपानी वितरण लाइनहरू मध्ये २५% मात्र पूर्ण रुपमा काम गर्ने अवस्थामा रहेको र ४०% लाई ठुलो मर्मतको आवश्यकता रहेको छ । नेपाल जनसाङख्यिकीय तथा स्वास्थ्य सर्वेक्षणका अनुसार, १६% जनसंङ्ख्याले अझै खुला रुपमा दिसा गर्ने गरेको पाईन्छ । २०% सरकारी विद्यालयहरूमा सुधारिएको खानेपानी तथा सरसफाइको सुविधा उपलब्ध छैन, साथै थप १९% मा पुरुष र महिलाका लागि छुट्टाछुट्टै शौचालय तथा महिनावारी सम्बन्धी सरसफाइको सुविधा नरहेको तथ्यांक छ ।

नेपालको भौगोलिक विशिष्टता

प्रमुख नदीहरूको स्रोत हिमालय उच्च भाग मा भएका कारण नेपालमा पानी प्रचुर मात्रामा छ । देश कोशी, गण्डकी र कर्णाली लगायत धेरै ठूला नदीहरूको घर हो, जसले सिँचाइ, जलविद्युत उत्पादन र खानेपानी आपूर्तिको लागि महत्त्वपूर्ण मात्रामा जलस्रोत प्रदान गर्दछ। तर, जलस्रोतको प्रचुरताका बाबजुद पनि देशका धेरै भागमा स्वच्छ खानेपानी र पर्याप्त सरसफाइ सुविधाको पहुँच चुनौतीपुर्ण बनेको छ । विशेषगरी सहरी क्षेत्रमा सरसफाइको समस्या पनि नेपालमा चिन्ताको विषय बनेको छ।

द्रुत शहरीकरण, अपर्याप्त फोहोर व्यवस्थापन प्रणाली र उचित सरसफाई सुविधाको अभावले जल प्रदूषण र स्वच्छता सम्बन्धी समस्याहरू निम्त्याएको छ । यी समस्याहरूलाई सम्बोधन गर्न सरकार र विभिन्न संस्थाहरूले खानेपानी र सरसफाई पूर्वाधार सुधार गर्न, उचित फोहोर व्यवस्थापन प्रवर्द्धन गर्न मसिनो गरि उपाय अबलम्बन गर्न आबस्यक छ । हिमालय र पहाडी क्षेत्रका धेरैजसो गाउँ वस्तीहरुमा धारा पुग्न सकेको छैन । खानेपानी लिनका लागि घरभन्दा धेरै टाढाका नदी, कुवा र प्राकृतिक धाराहरुमा धाउन पर्ने बध्याता छ । खानेपानीका कतिपय स्रोतहरूमा फोहर मिसिएको अबस्था छ । जसले गर्दा विभिन्न प्रकारका रोग ले सताउने गरेको पाइन्छ तराईका धेरैजसो बस्तीहरुमा जमिनमुनिबाट निकालिने टयुबेलको पानी प्रयोग गरिन्छ ।

यसको पानीमा आर्सेनिक नामको विषादी मिसिएर आउने हुँदा मानिसहरुलाई पेट र छालाको रोगले सताएको देखिन्छ । शहरी क्षेत्रमा धाराहरु बितरण भएपनि आवश्यक मात्रामा पानी वितरण भएको छैन शहर बजारमा कतिपय स्थानमा खानेपानीको पाइप र ढलको पाइप एकआपसमा मिसिएर दुषित पानी वितरण भइरहेको अवस्था पनि बिद्यमान छ । खानेपानी र सरसफाई अधिकारका मापदण्डहरु खानेपानी र सरसफाइको अधिकारलाई मानव अधिकारको रुपमा मान्यता प्रदान गर्नका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार समितिले सन् २००२ मा गरेको टिप्पणी नं. १५ मा उल्लिखित कुराहरु नै सबैभन्दा महत्वपूर्ण मापदण्डको रुपमा रहेका छन् । खानेपानी र सरसफाईको अधिकार सम्बन्धी उक्त टिप्पणी नं. १५ मा उल्लिखित महत्वपूर्ण मापदण्डहरु निम्न अनुसार रहेका छन् ।

पर्याप्त खानेपानी

विश्व स्वास्थ्य संगठनका अनुसार पर्याप्त पानी पाएको कुरा मान्नका लागि प्रतिव्यक्ति प्रतिदिन ५०–१०० लीटर पानी उपलब्ध हुनु जनाएको छ। त्यस्तै पानीको अति अभावको स्थितिमा पनि प्रतिव्यक्ति दैनिक न्यूनतम २० लिटर पानी उपलब्ध हुनुपर्ने । शुद्ध, किटाणु रहित, केमिकल रहित, घातक परावैजनिक पदार्थ नमिसिएको, मिसावट निषेध गरिएको, स्वास्थ्यको सुरक्षा गर्ने र पानीको रङ तथा स्वाद प्राकृतिक किसिमको भएको पानीलाई मात्र गुणस्तरीय पानी मान्न सकिने ।

खानेपानी र सरसफाइमा पहुँच

खानेपानीको स्रोत घरबाट १ कीमी दुरीभित्र हुनुपर्ने वा खानेपानी संकलन ३० मीनटभित्रमा गर्न सकिने स्थान र अवस्थामा हुनुपर्छ। थेग्न सक्ने गरी खानेपानीको दस्तुर तथा मूल्य कायम गर्नुपर्छ ।

खानेपानी उपलब्धताको प्राथमिकताक्रम

पानी उपयोगमा आधारभूत आवश्यकता (घरायसी उपयोग जस्तैः खानेपानी, नुवाई धुवाई, खाना पकाउन, व्यक्तिगत सरसफाइ आदि) लाई पहिलो प्राथमिकता दिनुपर्ने ।

खानेपानी उपयोगमा भेदभाव निषेध

खानेपानीको उपभोगामा कुनैपनि आधारमा विभेद, निकाला, प्रतिवन्ध, वहिष्कार आदि गर्न पाइदैन । विपन्नता, बञ्चितिकरण र उच्च जोखिममा परेका कारण खानेपानीको अधिकारबाट बञ्चित हुने अवस्था हुन नहुने र यस्तो अवस्थामा राज्यले सहयोग गर्नुपर्ने हुन्छ। खानेपानी तथा सरसफाइ सम्बन्धी सबै किसिमका निर्णय प्रक्रियमा सम्बन्धित सबै महिला पुरुषको सहभागिता र जानकारी पाउने हक सुनिश्चित् गरिएको हुनुपर्ने ।

सुधार का लागि सुझाव

-खानेपानी र सरसफाइ पूर्वाधार र सेवाहरूमा लगानी बढाउने

-सबैका लागि पानी र सरसफाइमा सुरक्षित र समान पहुँच सुनिश्चित गर्न नीतिहरू लागू गर्ने

-स्वच्छता अभ्यासहरू सुधार गर्न व्यवहार परिवर्तन अभियानहरूलाई बढावा दिने

-फोहोर पानी र ठोस फोहोरको सुरक्षित ब्यबस्थापन का लागि नियमहरू विकास र लागू गर्ने

-घरायसी र सामुदायिक उपयोगको लागि वर्षाको पानी संकलन प्रणाली लागू गर्ने।

-खानेपानी तथा सरसफाई व्यवसायीहरूलाई तालिम र क्षमता अभिवृद्धि प्रदान गर्ने।

-प्रदूषणका स्रोतहरू पहिचान गर्न पानीको गुणस्तर अनुगमन प्रणालीमा सुधार गर्ने।

-एकीकृत जलस्रोत व्यवस्थापन प्रवर्द्धन गर्न विभिन्न क्षेत्रहरू बीचको सहकार्य बढाउने ।

-ग्रामीण क्षेत्रमा सौर्य ऊर्जाबाट चल्ने पानी पम्पिङ प्रणालीको प्रयोगलाई विस्तार गर्ने

-कम लागत, दिगो सरसफाई प्रविधिहरूको प्रयोगलाई बढावा दिने।

-सामुदायिक स्वच्छता सुधार गर्न समुदायको नेतृत्वमा सरसफाइ कार्यक्रमहरू लागू गर्ने।

-स्थानीय र राष्ट्रिय स्तरहरूमा जल प्रशासन र व्यवस्थापन प्रणाली सुधार गर्ने।

-खानेपानी र सरसफाई सेवाहरू सुधार गर्न सार्वजनिक–निजी साझेदारीलाई सुदृढ गर्ने।

-विद्यालय र स्वास्थ्य सेवा केन्द्रहरूमा सफा पानी र सरसफाइ सुविधाहरूमा पहुँच बिस्तार गर्ने।

-जलस्रोतहरू उपलब्ध गराउने इकोसिस्टमहरूको संरक्षण र पुनर्स्थापनालाई समर्थन गर्नुहोस्।

-प्राकृतिक प्रकोपहरूको लागि आपतकालीन पानी र सरसफाइ योजनाहरू स्थापना गर्ने।

सारांश
खानेपानी आपूर्ति र सरसफाइ सार्वजनिक स्वास्थ्य र कल्याण प्रवर्द्धन गर्न अति आवश्यक छ। पानीजन्य रोगहरूको फैलावट रोक्न र सरसफाइ कायम राख्न सफा र सुरक्षित पिउने पानीको पहुँच महत्त्वपूर्ण छ। मानव फोहोरको उचित विसर्जन र पानीका स्रोतको प्रदूषण रोक्न शौचालय र फोहोर पानी व्यवस्थापन प्रणाली लगायतका पर्याप्त सरसफाइ सुविधाहरू अत्यावश्यक छन। सफा पानी र सरसफाइमा पहुँचको अभावले सीमान्तकृत समुदायहरूलाई विशेष गरी विकासोन्मुख देशहरूमा असर गर्छ। यसले रोगको दर बढाउँछ।

खानेपानी र सरसफाइ पूर्वाधारमा लगानी गर्नु आधारभूत मानव अधिकार मात्र होइन बुद्धिमानी आर्थिक निर्णय पनि हो। यसले स्वास्थ्य क्षेत्रमा सुधार गर्न, उत्पादकता बढाउन, स्वास्थ्य सेवा लागत घटाउन र दिगो विकासलाई प्रोत्साहन गर्न सक्छ। अपर्याप्त खानेपानी आपूर्ति र सरसफाइ सेवाहरूले पनि महत्त्वपूर्ण वातावरणीय प्रभाव पार्छ। पानीको अभाव, प्रदूषण र प्राकृतिक स्रोतहरूको ह्रास प्रायः कमजोर व्यवस्थापन र अपर्याप्त पूर्वाधारले बढाउँछ।विशेष गरी सघन जनसंख्या भएको क्षेत्र वा सीमित जलस्रोत भएका क्षेत्रहरूमा।

सफा पानी र पर्याप्त सरसफाइ सुविधाहरूमा उचित पहुँच बिना, मानिसहरू बिरामी पर्न सक्छन् र छिटो रोगहरू फैलाउन सक्छन्, जसले सार्वजनिक स्वास्थ्य संकट निम्त्याउँछ। थप रूपमा, अपर्याप्त पानी र सरसफाइले गरिबी र सामाजिक असमानता बढाउन सक्छ किनकि व्यक्तिहरूले आधारभूत आवश्यकताहरूमा पहुँच गर्न र आफ्नो पूर्ण क्षमता हासिल गर्न संघर्ष गर्न सक्छन्।

सरकारहरूले आफ्ना नागरिकहरूको सुरक्षा र कल्याण सुनिश्चित गर्न पानी र सरसफाइ पूर्वाधार र जलस्रोत व्यवस्थापनमा लगानीलाई प्राथमिकता दिनुपर्छ। विश्वव्यापी पानी र सरसफाइ संकटलाई सम्बोधन गर्न सरकार, नागरिक समाज संगठनहरू र निजी क्षेत्र समावेश गरीएको सहयोगी प्रयासहरू आवश्यक छ। सुधारिएको पूर्वाधार, स्रोत व्यवस्थापन, र जल संरक्षण अभ्यासहरूको प्रवर्द्धन सहित दिगो समाधानहरू पहिल्याउन आबस्यक छ।

लेखक न्याैपाने नेकपा (एमाले)को केन्द्रिय खानेपानी तथा सरसफाइ विभागको सदस्य रहेका छन । 

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार ०७:२९