७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

नुवाकोटको विदुरमा रास्वपाका वडा सभापतिमाथि खुकुरी प्रहार

७ साउन, विदुर । नुवाकोटको विदुर नगरपालिकामा भएको एक झडपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्थानीय नेता घाइते भएका छन । रास्वपाका विदुर नगरपालिका वडा नम्बर ८ का सभापति सुमन आलेमगर झडपमा परी गम्भीर घाइते भएको नगर सभापति भरतबहादुर थापामगरले विज्ञप्ति मार्फत जानकारी दिएका छन ।

नगरसभापति थापामगरका अनुसार विदुर ९ को प्लास्टरमा ५ गते शुक्रबार राति ८ बजे खाना खाइरहेको समयमा अर्कै होटलबाट मदिराले मातिएर आएका युवाहरूको समूहले खुकुरी प्रहार गरेको बताएका छन । उनले सिरूपाते खुकुरी हानेर फरार रहेका अमिर तामाङ र आनन्द तामाङसहित १६ जनालाइ कारबाही गर्न र घाइतेको उपचार गर्न माग गरेको छ ।

यसअघि दैनिकीले जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितसँग चासो राख्दा दुई समूहको बीचमा बियरको बोतलले हानाहान भएको जानकारी दिएका थिए । तर रास्वपाका नगरसभापति थापामगरले भने खुकुरीले नै हानेर घाइते बनाएको दाबी विज्ञप्ति मार्फत गरेका छन ।

घाइते सुमन आलेमगरको टाउकोमा गम्भीर चोट लागेको छ । उनको टाउकोको चोट हेर्दा बियरको बोतलको आक्रमण नभई खुकुरीकै जस्तो देखिन्छ । प्रहरीले घटनामा संलग्न दुई जनालाई यसअघि नै पक्राउ गरिसकेको छ । रास्वपाले दोषीमाथि कारबाही नभए कडा भन्दा कडा आन्दोलनका कदम चाल्ने चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आईतवार ०९:४०