७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

सुन तस्करी प्रकरणः छानबिन गर्न भन्सार विभागले बनायो समिति

४ साउन, काठमाडाैं । त्रिभुवन विमानस्थलको भन्सारबाट जाँचपास भएर बाहिरिएको करिब १०० किलो सुन समातिएपछि भन्सार विभागले छानबिन समिति बनाएको छ।

भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरिएको सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए।

उक्त समितिलाई छानबिन गरी पाँच दिनभित्र आवश्यक प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । करिब एक सय केजी सुन भन्सार विभागको कार्यक्षेत्रबाट बाहिरिएपछि विभागका महानिर्देशक शोभाकान्त पौडेलले आज छानबिन समिति गठन गरेका हुन् ।

“विभागका कर्मचारीले आवश्यक चेक जाँच गरे पनि कहिलेकाँही प्राविधिक त्रुटीका कारण यस्तो अवस्था देखिनसक्ने भएकाले छानबिन समिति गठन गरिएको हो”, सूचना अधिकारी खड्काले भने ।

राजस्व अनुसन्धान विभागले बुधबार सिनामङ्गलबाट करिब एक सय किलो सुन बरामद गरेको थियो । सो प्रकरणमा हालसम्म छ जना पक्राउ परिसकेका छन् । बरामद गरिएको सुन परीक्षणका लागि आजै नेपाल राष्ट्र बैंक पठाइएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार ११:४८