८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

विकास बैंकहरुले ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ ल्याउने

३ साउन, काठमाडाैं । विकास बैंकहरुले दिगो विकासमा योगदान दिने उद्देश्यले ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ ल्याउने भएका छन् । हाललाई कृषिजन्य उद्यम,बनजन्य उद्यम,जल उर्जा,सौंर्य उर्जा,जैविक उर्जा,वायु उर्जा,केवलकार/रोपवे, विद्युतीय सवारी साधन,फोहोर पानी प्रशोधन गर्ने उद्यम आदिलाई उत्पादनमूलक क्षेत्रमा गरिने लगानीलाई हरित कर्जा योजना अन्तर्गत समेट्ने निर्णय डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपालको कार्य समितिले गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको लगानी तुलनात्मकरुपमा कम उत्पादनशील क्षेत्रमा बढ्दै गएकाले उत्पादनमूलक र दिगो बिकासमा टेवा दिने क्षेत्रमा कर्जा बढाउने उद्देश्यले ‘हरित कर्जा योजना’ ल्याउने निर्णय डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपालले गरेको हो ।

हरित कर्जा योजनामा गरिने लगानीका लागि बिस्तारै स्रोतको सुनिश्चतता पनि गर्दै जाने उद्देश्यले ‘हरित निक्षेप योजना’ पनि ल्याइने भएको संघले जनाएको छ ।

‘हरित निक्षेप योजना’ मा अन्य बचत र मुद्दति निक्षेपमा भन्दा शुन्य दशमलव पच्चिस प्रतिशत अंकले बढि ब्याज प्रदान गर्ने र ‘हरित कर्जा योजना’ मा अन्य सोही प्रकृतिको कर्जा योजनामा भन्दा शुन्य दशमलव पच्चिस प्रतिशत अंकले कम ब्याजमा कर्जा प्रवाह गर्नेगरी कर्जा योजनाको प्रडक्टपेपर विकास गरिने भएको छ ।

सदस्य बैंकहरुले आ–आफ्ना बैंकको व्यवसायिक रणनीति अनुसार अझ बढी सुबिधा दिनेगरी प्रडक्टपेपरलाई बिकास गर्न सक्ने निर्णय पनि एशोसियनले गरेको छ । कार्बन उत्सर्जन गर्ने र जलवायु परिवर्तनलाई असर गर्ने कुनै पनि उद्योग/व्यवसायले हरित कर्जा सुबिधा लिन पाउने छैनन् ।

आ–आफ्ना बैंकका संचालक समितिबाट प्रडक्टपेपर स्वीकृत गराइ ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ बजारमा ल्याउनका लागि एशोसियसनले आफ्ना सदस्य बैंकहरुलाई परिपत्र जारी गरिसकेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार १३:४१