७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

नुवाकोटको लिखुमा सिसिटिभीको तार काटेर कार्यकक्षमै जाँड खान बसेका थिए कर्मचारीहरू…

३ साउन, नुवाकोट । नुवाकोटको लिखु गाउँपालिकाको वडा नम्बर ६ का वडा सचिव र कार्यालय सहयोगीले सिसिटिभीको तार काटेर कार्यालय समयमा कार्यकक्षमा जाँड खान बसेको पाइएको छ । वडा नम्बर ६ का वडा अध्यक्ष सुमन भण्डारीले वडा समितिको बैठक नै बोलाएर विभागीय कारबाहीका लागि सिफारिस गरेका छन ।

नेकपा माओवादी नेता समेत रहेका भण्डारीले वडा समितिको बैठक बोलाएर वडा सचिव निरबहादुर राना र कार्यालय सहयोगी श्रीधर श्रेष्ठ माथि विभागीय कारबाही गर्न गाउँपालिकामा सिफारिस गरेका हुन । वडा कार्यालयको तर्फबाट अध्ययन गर्दा कर्मचारीहरूले कार्यालय समयमै कार्यालयमा सिसिटिभीको प्लग छुटाइ मादक पदार्थ सेवन गरेको देखिएको जानकारी दिए ।

उनले वडाको सिफारिसको आधारमा गाउँपालिकाले वडा सचिवलाई तानेको पनि जानकारी दिए । निजामति कर्मचारीले आचार विपरितको काम कार्यालय समयमा सेवाग्राहीको वेवास्ता गरेर गर्नु गम्भीर अपराध रहेकाले दोषीहरू माथि कानुन अनुसार कडा कारबाही हुनुपर्ने अध्यक्ष भण्डारीले बताए ।

यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुष्करले कर्मचारी माथि कारबाही प्रक्रिया अघि बढीसकेको बताएका थिए । कार्यकक्षमै भट्टी चलाएर जाँड खाएको भिडियो र समाचार बाहिरिएपछि दैनिकीसँग कुरा गर्दै  उनले छानविन गरेर दोषी देखिए विभागीय कारबाही गर्ने बताएका थिए । यद्यपी गाउँपालिकाको नेतृत्वले भने वडा सचिव रानालाई जोगाउने विकल्प खोजिरहेको स्रोतले जनाएको छ ।

आइतबार राना र श्रेष्ठले कार्यकक्षमै जाँडसहितको भोज गरेका थिए । निकै वेथिति र भ्रष्टाचार भैरहेको भनेर नागरिकले गुनासो गरिरहेको लिखु गाउँपालिको वडा नम्बर ६ मा यस्तो देखिएपछि सामाजिक सञ्जाल मार्फत नागरिकहरूले खबरदारी गरिरहेका छन ।

वडा समितिको माइन्युट !

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार १५:२५