रिलायबल नेपाल लाइफको आईपीओमा कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो अपडेट
२ साउन, काठमाडाैं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा ३१ करोड ५ लाख ३३ हजार १०० रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले असार २७ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेकाे आईपीओमा आज साउन २ गते बिहानसम्म १६ हजार ६०१ जनाले १२ लाख ८ हजार ३०० कित्ताका लागि आवेदन दिएकाे सीडीएसले जनाएकाे छ । यो मागभन्दा १.००६९ गुणा बढी आवेदन हो ।
कम्पनीले सर्वसाधारणलाई जारी हुने १ करोड २० लाख कित्ताको १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ जारी गरेकाे हाे ।
लगानीकर्ताले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार ४०० कित्ताका लागि साउन १० गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तयि संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो सेयर’ बाट आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : २ श्रावण २०८०, मंगलवार १२:४३












