श्रममन्त्री विष्टले कारबाही स्वरूप सरूवा गरेका श्रम कार्यालयका २५ कर्मचारीविरूद्ध भ्रष्टाचार मुद्दा
९ कात्तिक, काठमाडाैँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले भ्रष्ट अाचरण भएका कर्मचारी भन्ने जानकारी पाएर सरूवा गरेका २५ कर्मचारीविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मन्त्री विष्टले मन्त्रालयको नेतृत्व सम्हाले लगत्तै ती कर्मचारीलार्इ सरूवा गरेका थिए । अायोगले शुक्रबार वैदेशिक रोजगार विभागको श्रम कार्यालय काठमाडाैँका २५ जना कर्मचारीसहित २७ जनाविरुद्ध बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

नक्कली कागजात बनाएर बिना भिसा कुवेतको श्रम स्वीकृति दिएको अभियोगमा अख्तियारले विभागको काठमाडौं कार्यालयका २५ जना कर्मचारी र २ जना विचौलियाविरुद्ध मुद्दा दर्ता गरेको हो । उनीहरुले रोजगारीका लागि कुवेत जान चाहने १८४ जना महिलालाई भिसाविनै श्रम स्वीकृति दिएको पाइएको अख्तियारका प्रवक्ता जीवराज कोइरालाले दैनिकीलार्इ जानकारी दिए ।

अायोगले विभागका शाखा अधिकृतहरु हरिप्रसाद देवकोटा, दीपकुमार आचार्य, गणेश विक्रम शाह, पवित्रा श्रेष्ठ, दिनेश कुमार राई रामप्रसाद ओली त्यस्तै नायव सुव्बाहरु अमरराज जोशी, विन्दु घिमिरे, रघुनाथ केसी, योगेन्ऽ खत्री, विष्णुहरि निरौला, दिलबहादुर मदन गिरी, खगेन्द्र पोखरेल, लक्ष्मीदेवी भुसाल, नगेन्द्रप्रसाद गौतम, हेमराज पाण्डे, कर्णबहादुर नेपाली, केदार घिमिरे, र केशवराज ढुंगाना र कम्प्युटर अपरेटरहरु चक्रबहादुर पराजुली, अमर महरा, डम्ब बहादुर विश्वकर्मा, राजकुमार शाही र धनवीरसिंह भाटविरुद्ध मुद्दा दर्ता गरेको हो ।
यस्तै गलत कागजात बनाएर श्रम स्वीकृति दिलाउन भूमिका खेल्ने बिचौलियाहरु राजिवकुमार पञ्जियार र विकास थापालाई पनि सहयोगी मतियारको रुपमा मुद्दा दायर गरिएको छ ।
यो पनि पढ्नुहोस्
–श्रममन्त्री विष्टको निर्देशनपछि वैदेशिक रोजगार विभागका घुसखोरीको रुवावासी
प्रकाशित मिति : ९ कार्तिक २०७५, शुक्रबार १७:३६












