१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

सशस्त्र प्रहरी बलका युनिटहरूमा प्लाष्टिकजन्य वस्तु पूर्ण प्रतिबन्धित

२७ असार, काठमाडाैँ । सशस्त्र प्रहरी बल नेपालले आफ्नो सम्पूर्ण इकाईहरुमा प्लाष्टिकजन्य वस्तु निषेध गर्ने, केही प्लाष्टिकजन्य सामानको प्रयोग कम गर्दै लैजाने लक्ष्य अनुरुप वातावरण संरक्षण र सशस्त्र प्रहरी कर्मचारीहरुमा सचेतना अभिबृद्धि गराई प्लाष्टिजन्य बस्तुको प्रयोग घटाउँदै पुनः प्रयोगमा जोड दिने नीति लिएको छ ।

सोही नीति अनुरुप आगामी श्रावण १ गतेदेखि सशस्त्र प्रहरी बल नेपालका इकाईहरुमा प्लाष्टिकजन्य वस्तु निषेध गरिने भएको छ, भने केहीको प्रयोग क्रमश कम गर्दै लगिने छ । मानविय क्रियाकलापमा विशेष गरी हरितगृह ग्याँस उत्सर्जन र नघट्ने प्लाष्टिकजन्य बस्तुको बढ्दो प्रयोग र अव्यवस्थित विसर्जनले गर्दा जलबायु परिवर्तनमा विश्वव्यापी प्रभावहरु देखा परिरहेको विभिन्न बैज्ञानिक अध्ययन अनुसन्धानले प्रमाणित गरेको तथा मौसम परिबर्तनमा अतिबृष्टि, अनाबृष्टि, खण्डबृष्टि, तापक्रम बृद्धि र हिमनदी, हिमताल तीव्र गतिमा पग्लिदै गईरहेको सन्दर्भमा यस प्रकारको थालनी गरिएको हो ।

आगामी श्रावण १ गतेबाट सशस्त्र प्रहरी बल नेपालले आफ्ना युनिटहरुमा पोलिथिनका झोलाको प्रयोग, प्लाष्टिकबाट निर्मित फूल तथा गमला खरिद, डिस्पोजेबल प्लास्टिकका सामानहरुको प्रयोग, मेश, बाथरुम र ट्वाईलेटमा समेत प्लाष्टिकका जग, मग, बाल्टी र बाटा लगायतका सामानहरु निषेध गर्ने निर्णय गरेको छ । यसका साथै सोही मितिबाट राशन स्टोरमा प्लाष्टिकको झोला तथा बोरा, कार्यालयमा प्लाष्टिकका पानी बोतलहरु, क्यान्टिनमा प्लाष्टिकमा प्याक गरिएका सामानहरु बेचबिखन कार्य र फोहोर बाल्ने कार्य समेत सशस्त्र प्रहरी बल नेपालको युनिटहरुमा क्रमश कम गर्दै लगिनेछ ।

त्यस्तै वातावरण संरक्षणका लागि सशस्त्र प्रहरी बल नेपालले खाद्यान्य भण्डारणको लागि प्लाष्टिक बाहेक टिन तथा काठको डिव्वा प्रयोग गर्ने, राशन सप्लायर्सलाई बिस्कुट तथा पाउरोटी लगायतका सामानहरु कागजको प्याकेटमा आपुर्ती गर्न अनुरोध गर्न तथा फोहोरको बर्गीकरण गरी डस्टविनको व्यवस्था मिलाउने र सोही बमोजिम व्यवस्थापन गर्न स्थानीय तहहरुसँग समन्वय गरी काम गर्ने योजना बनाएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

सशस्त्रले आफ्नो कार्यालयहरुमा पानीको लागि पुनः प्रयोग गर्न सकिने जारहरुको प्रयोग गर्ने, युनिटमा हुने कार्यक्रमहरुमा कागज वा पातले बनेका नष्ट गर्न सकिने सामान प्रयोग, मेशहरुमा स्टिल, सीसा वा तामाको जग, मगको प्रयोग गर्ने, मेश, ट्वाईलेट, बाथरुम लगायतमा सिल्भर तथा स्टिलको बाल्टी, बाटाहरुको प्रयोग गर्नेछ ।

यसका साथै युनिट परिसरमा भएका खाली जग्गाको उपयुक्त स्थानहरुमा मौसम र भुगोल सुहाउँदो अन्नबाली, तरकारी तथा फलफुल खेती, प्रयोगमा नआएको कुनै पनि जमिन बाँझो नराख्ने र वातावरण संरक्षण सम्बन्धी भएका कार्यहरुको स्तर सम्बन्धमा केन्द्रबाट निरीक्षण समेत गरिने भएको छ ।

प्रत्येक नागरिकले स्वच्छ र स्वस्थ बातावरणमा बाँच्न पाउनुपर्छ भनी नेपालको संविधानमा भएको व्यवस्था तथा सम्मानित राष्ट्राध्यक्ष र सरकार प्रमुखहरुबाट समेत विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा बातावरण संरक्षण सम्बन्धी विशेष गरी पेरिस सम्झाैता अनुसार व्यक्त प्रतिवद्धताका साथै मानवीय सुरक्षाको अवधारणामा समेत वातावरण सुरक्षा पर्ने भएको हुँदा सशस्त्र प्रहरी बल, नेपालले वातावरण संरक्षण र सम्वर्धन गर्न सहयोग पुर्याहउने उद्देश्यले यि कार्यको थालनी गरेको हो ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार ११:२९