१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

आरजुलाई साढे दुई करोड बुझाएको भनिएकाे अडियाे सन्देश शर्माको स्वरसँग मिल्यो

२४ असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणा देउवाको नाम लिइएको अडियो सन्देश शर्माको आवाजसँग मेल खाएकाे छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर हाल थुनामा रहेका दाङका शर्माविरूद्ध ठगी तथा संगठित अपराध कसूर मुद्दामा अनुसन्धान भइरहेकाे छ । सामाजिक सञ्जालमा भाइरल भएकाे अडियाेमा आरजु देउवालाई साढे दुई करोड बुझाएको भनिएकाे थियाे ।

राणाले आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न माग राखेर नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी थिइन् । नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले उक्त निवेदनमाथि अनुसन्धान गर्दा त्यो अडियो शर्माको आवाजसँग मिलेको र त्यो अडियो टिकटकमा कसले पहिलो पटक राखेको थियो भन्ने बारेमा टिकटक सिंगापुरसँग जानकारी मागेको बताएका छन् ।

आरजुले केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त फेक अडियो बदनियत पूर्ण ढंगबाट बदनाम गराउने उद्देश्यले नियोजित रुपमा रेकर्ड गराइएको भन्दै कारबाहीको दायरामा ल्याउन माग गरेकी थिइन् ।

प्रकाशित मिति : २४ असार २०८०, आईतवार १३:३१