६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

राष्ट्रिय सभामा एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

२० असार, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेको छ। बुधबार राष्ट्रियसभा बैठक सुरु हुने बित्तिकै राष्ट्रियसभा बैठकमा एमाले  संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री प्रचण्डले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन गर्ने क्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गरेका हुन् ।

प्रचण्डले आफू व्यवसायी सिंहको प्रयासमा भारतको इसारामा प्रधानमन्त्री बनेको अभिव्यक्ति दिएकाले भारतको इसारामा बनेको प्रधानमन्त्री आफ्नो पार्टीलाई स्विकार्य नहुने बताए।

‘गत १८ गते भारतीय नागरिक प्रितम सिंहको ८८औं जन्मदिनको अवसरमा उनको छोरीले लेखेको पुस्तक विमोचन विमोचन गर्ने सन्दर्भमा हाम्रो देशका सम्माननीय प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर देशव्यापी कौतुहलता जागेको छ’, उनले भने, ‘हाम्रो देशको प्रधानमन्त्री कसले नियुक्त गर्छ। कसेको इसारामा हुन्छ ? प्रधानमन्त्रीजीले प्रितम सिंह मलाई प्रधानमन्त्री बनाउन पटक-पटक दिल्ली गएको बताउनु भयो। दिल्लीमा राजनीतिक वातावरण बनाएको बताउनु भएको छ। यहाँ ब्यापार, बिजनेश गर्न बसेको भारतीय नागरिकले यहाँ देशका नेताहरुसँग समन्वय गर्छ।’

यो कुरा नेपालका लागि शीर निहुर्‍याउने विषय भएको उनले बताए। ‘उहाँ स्वयम यो कुरा अभिव्यक्त गर्दा लज्जित भएका छौं। हामीलाई लज्जाबोध भएको छ। हामी कुन देशका नागरिक हौँ ? हामीले हाम्रो देशको प्रधानमन्त्री बनाउँदा यो देशका सार्वभौमसत्ता सम्पन्न संसदले बनाउँछ कि भारतको इसारामा, दिल्लीको इसारामा बन्छ?’, उनले भने, ‘यसरी भारतको इसारामा बन्ने प्रधानमन्त्री हामीलाई ग्राह्य छैन। त्यो प्रधानमन्त्री हामीलाई स्वीकार्य छैन। त्यसकारण हामी प्रधानमन्त्रीले यो देशका प्रधानमन्त्री जुन भनिरहनु भएको छ। उहाँले राजीनामा दिनु पर्छ।’

दिल्लीको इशारामा बनेको प्रधानमन्त्री आफूहरुलाई स्वीकार्य नभएको भन्दै उनले अब प्रचण्डले राजीनामा दिनु पर्ने बताए ‘भारतको इसारामा, भारतको नेतृत्वमा, भारतको संयोजनमा भएको प्रधानमन्त्री हामीलाई स्वीकार्य छैन’, उनले भने, ‘प्रधानमन्त्रीले राजीनामा नदिउन्जेलसम्म यो बैठक अवरुद्ध गर्दर्छौं।’

प्रकाशित मिति : २० असार २०८०, बुधबार १५:४९