६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

प्रचण्ड सरकारकाे ६ महिनाकाे उपलब्धिः अर्थतन्त्रको पुनरुत्थानदेखि भ्रष्टाचार नियन्त्रणसम्म (सूचीसहित)

१४ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व गठबन्धन सरकारले ६ महिनाको अवधिमा ७७ उपलब्धी हासिल गरेकाे दाबी गरेको छ ।

वर्तमान सरकारले ६ महिनाको अवधिमा सम्पादन गरेका प्रमुख कार्यहरू र हासिल भएका मुख्य-मुख्य उपलब्धिहरू भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ७७ बुँदा सार्वजनिक गरेको हाे।

गठबन्धन सरकारले नेतृत्व गरेपछि अर्थतन्त्रलाई गतिशील बनाइएको उल्लेख गरिएको छ । वित्तीय तथा मौद्रिक नीतिको सामञ्‍जस्यपूर्ण कार्यान्वयन गरी अर्थतन्त्रमा देखापरेको तरलता सङ्‍कुचन, उच्च ब्याजदर, विदेशी मुद्राको सञ्‍चितिमा परेको दबाब, पूँजी बजारमा आएको गिरावट र बैंक तथा वित्तीय क्षेत्रका समस्यालाई उचित सम्बोधन गर्दै अर्थतन्त्रलाई गतिशील बनाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अर्थतन्त्र सुधारका लागि सरकारले अवलम्बन गरेका नीति तथा चालेका कदमको फलस्वरूप बैंङ्क दर तथा ब्याजदरमा कमी आई वित्तीय क्षेत्र स्थायित्व र लगानीको वातावरणमा सकारात्मक सुधार आएको जनाइएको छ ।

समावेशी संघीय लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण, अर्थतन्त्रको पुनरुत्थान र सबलीकरण, सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण, नागरिकमैत्री प्रशासनको स्थापना, भष्टाचार नियन्त्रण र राज्यको सबै तहमा सुशासनको प्रवर्द्धन गर्न सरकार प्रयत्नशील रहेको उल्लेख छ ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार १५:४६