६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

केही नदिंदा पनि गरीबको छोराले जिम्बाबे पुगेर अमेरिकालाई हरायो तः सांसद भण्डारी

६ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले गरीबको छोरालाई केही नदिंदा पनि जिम्बाबेमा गएर क्रिकेटमा अमेरिकालाई हराएको उदाहरण राज्यका लागि काफी हुन सक्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा सांसद भण्डारीले गाउँघरमा फल्ने फापर मकैको अपमान गरेर विदेशबाट कुहिएको चामल भित्र्याएर कस्तो संस्कार विकसित गर्दै छौ भनेर प्रश्न पनि गरे ।

उनले भने ‘ हामीले धनी बन्ने नाममा हामीले उत्पादन गर्ने फापर मकैलाई अपमान गरेर यो हलो जोत्नेले खाने हो यो गरीबले खाने हो भनेर हामीले विदेशबाट कुहिएका चामल भित्रयाएका छौं । हाम्रो जुन कुराहरु थियो त्यो विस्थापित गर्यौं ।

सांसद भण्डारीले नेपाली युवाहरुले अमेरिकालाई हराएर मुलुकका लागि गतिलो उदाहरण दिएको चर्चा गर्दै नेपालसँग सबै हुँदाहुँदै पनि कता लागि रहेका छौं भनेर प्रश्न गरे ।

उनले भने ‘ के हुँदै छ हाम्रो शिक्षा । के हाम्रो शिक्षा अरु देशको कपी गर्ने हो । के हाम्रो मुलुकमा केही पनि छैन । हाम्रो मुलुकमा भएको कुरा विश्वभर ग्लोबल भिलेजमा पुर्याउने हाम्रो दायित्व होईन ?हाम्रो पाठ्यक्रममा लैजाने हैन् ? आखिरमा गरीवको छोरा केही नदिँदा पनि जिम्बाबेमा गएर क्रिकेट खेलेर अमेरिकामा जित्दो रहेछ नि त । त्यसैले हामीसँग सबै कुरा छ नी । त्यसैले हामीसंँग भएको सबै कुरा विश्वमा फैलाउनु पर्दैन?कता लागिरहेका छौं हामी।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार १६:०४