८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

चीनमा हुने १९ औं एसियाली खेलकुदका लागि उसु खेलाडी छानिए

४ असार, काठमाडौं । चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुद अन्तर्गत उसुको अन्तिम खेलाडी छनोट प्रतियोगिता सोमबार सम्पन्न भएको छ ।

थाउलोमा ७ र सान्सौंमा ५ गरी जम्मा १२ खेलाडी छनोट भएको उसुका मुख्य प्रशिक्षक अम्बरकुमार थिङले जनाएका छन् । छनोट हुनेमा दुई खेलाडी बाहेक सबै विभागीय टोलीका हुन् ।

थाउलोतर्फ छाङ छ्वानको पुरुषमा नेपाल आर्मीका विजय सिन्जाली तथा महिलामा आर्मीकै सुस्मिता तामाङ छनोट भए । नान् छ्वान अलराउन्डको पुरुषमा कर्णाली प्रदेशका दीपक हमाल तथा महिलामा बागमतीकी निमा घर्ती मगर छनिए । थाइची छ्वान अलराउन्डको पुरुषमा आर्मीका पासाङ शेर्पा तथा महिलामा आर्मीकै सविता राई छनोट भए । महिला चेन सु÷छियाङ सुमा एपीएफकी कविता थापा छनोट हुन सफल भइन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको सान्सौंतर्फ पुरुष ५६ केजीमा एपीएफका रोहित चुनारा, ६० केजीमा एपीएफकै मंगलप्रसाद थारु, ६५ केजीमा नेपाल प्रहरीका समन घुस्री र ७० केजीमा आर्मीका पदम राईले अन्तिम छनोटमा सफलता पाए । महिला ५२ केजीमा आर्मीकी एलिना चौधरी सफल भइन् ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार १९:५३