६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

सुटुक्क अमेरिका उडेका एमाले महासचिवको विदाइमा मध्यरातमा विमानस्थल पुगे विष्णु रिमाल

१ असार, काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेल तीन सदस्यीय टोलीको नेतृत्वको सुटुक्क अमेरिका उडेका छन । बिहीबार बिहानको राति २ बजे महासचिव पोखरेल अमेरिका उडेका हुन । उनको साथमा पत्नी सुजिता शाक्य र स्थायी कमिटी सदस्य राजेन भट्टराई पनिसँगै अमेरिका उडेका छन । प्रवासी नेपाली मञ्च अमेरिकाको राष्ट्रिय कमिटीको अधिवेशनका लागि महासचिवको नेतृत्वमा तीन सदस्यीय टोली अमेरिका उडेको हो ।

पोखरेलको विदाइमा मध्याराति एक बजे उपमहासचिव विष्णु रिमाल, पोलिटब्यूरो सदस्य पार्वत गुरूङ र केन्द्रीय सदस्य समेत रहेका केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारी विमानस्थलमा पुगेका थिए । यता बिहीबार दिउँसो भने केन्द्रीय कार्यालयमा महासचिव सुटुक्क अमेरिका उडेको भन्दै पदाधिकारीहरू कानेखुशी गर्दै थिए ।

केन्द्रीय कार्यालयका अन्य कर्मचारीले पनि महासचिव अमेरिका उड्दै छन भन्ने पूर्व सूचना पाएका थिएनन् । बिहीबार दिउँसो केन्द्रीय कार्यालयको चमेनागृहको छेउमा बसेर एक पदाधिकारी शुभयात्रा पनि भन्ने अवसर नदिएको भन्दै गुनासो गरिरहेका थिए । पोखरेल अमेरिका उडेपछि उपमहासचिव रिमालले सामाजिक सञ्जाल मार्फत तस्बिर सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार १४:२४