६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

बजेटलाई लिएर सामुदायीक शिक्षक, कर्मचारी असन्तुष्टः काठमाडौंमा थाल ठटाएर गरे प्रर्दशन

२८ जेठ, काठमाडौं । आफूहरूको माग बजेटमा नसमेटिएको भन्दै सामुदायीक विद्यालयका शिक्षकलगायत कर्मचारीहरूले काठमाडौँमा थाल ठटाएर प्रदर्शन गरेका छन् ।

आइतबार काठमाडौँको माइतीघरबाट नयाँबानेश्वरसम्म थाल थटाएर प्रदर्शन गरेका उनीहरुले बजेटमार्फत शिक्षा क्षेत्रका समस्या समाधान गर्नुपर्ने, विद्यालय कर्मचारीको तलबमान कायम गर्नुपर्ने माग गरेका छन् ।

प्रदर्शनमा सहभागीहरूले संघीय शिक्षा ऐन तत्काल जारी गर, मानवअधिकार रक्षा गर, निःशुल्क शिक्षा लागु गर, सहमति सम्झौता कार्यान्वयन गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

संघीय शिक्षा ऐन जारी गर्न सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि नसुनेकाले थाल ठटाएर प्रर्दशन गर्नु परेको उनीहरुको भनाई छ । सामुदायीक विद्यालय संघका अध्यक्ष शशि केसीले शान्तिपुर्ण रुपमा गरेको आन्दोलनमा सरकारले माग सम्बोधन नगरे लाखौं कर्मचारीहरुलाई सडकमा उतार्ने चेतावनी दिए ।

‘सामुदायिक विद्यालयमा काम गर्ने कर्मचारीहरुलाई अझ पनि अपहेलित गरियो, अपमान गरियो भने हामी लाखौं कर्मचारीहरु सडकमा उर्तान बाध्य हुने छौं।’उनले भने, ‘हामी ४० हजार कर्मचारीहरुले नेतृत्व गरिराखेका छौं । यदि यो शान्तिपुर्ण आन्दोलन गर्दा पनि सरकारले हाम्रो आवाज सुनेन भने हामी द्वन्द्व गर्न बाध्य हुने छौँ।’

सामुदायीक विद्यालयका कर्मचारीका लागि बजेटमा कुनै सम्बोधन नहुनु दुर्भाग्य भएको उनको तर्क छ । ‘निति तथा कार्यक्रममा आईसकेको बजेटमा एक रुपैयाँ पनि सामुदायिक कर्मचारीहरुलाई नछुट्याईनु दुभाग्यको कुरा हो । हाम्रो माग भनेको नीति तथा कार्यक्रममा छुट्याईएको बजेट सामुदायीक कर्मचारीहरुले पाउनुपर्छ भन्ने हो ।’

   

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आईतवार १६:२४