२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

२२ औँ वार्षिकोत्सव मनाएको केही दिनमै बन्द भयो राजधानी दैनिक

२७८ जेठ, काठमाडौँ । २२ औँ वार्षिकोत्सव मनाएको केही दिनमै ‘राजधानी’ राष्ट्रिय दैनिक बन्द भएको छ । राजधानी न्युज पब्लिकेशन प्रालिले २२ वर्षदेखि निरन्तर प्रकाशित गर्दै आएको र आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको राजधानी यही जेठ २६ गतेदेखि बन्द भएको हो । विगत दुई दिनदेखि पत्रिका प्रकाशित भएर बजारमा गएको छैन ।

राजधानी न्युज पब्लिकेशन प्रालिको प्रमुख कार्यकारी अधिकृतमा डोलेन्द्र थापा नियुक्त भएपछि सञ्चालकहरूको बीचमा बढेको विवादले पत्रिका छाप्नका लागि कागज किन्ने अवस्था नभएपछि पत्रिका बन्द भएको स्रोतले जनाएको छ । थापाले राजधानी जाने बित्तिकै जिल्ला संवाददाताको पारिश्रमिक रोकिदिएका थिए ।

थापाले जिल्ला संवाददाताले पठाउने विज्ञापनको कमिसन समेत रोकेका थिए । त्यसपछि व्यस्थापनमा विवाद बढेसँगै थापाको नियुक्ति बदर गरी उनको नाम प्रिन्टलाइनबाट हटाइएको थियो । सञ्चालक समितिमा अध्यक्ष नन्दा शेरचन र निर्देशकद्धयमा आशिश शेरचन र सचिन शेरचन रहेका छन । स्रोतका अनुसार आमा छोराको विवाद पनि पत्रिका बन्द हुनुको कारण हो ।

थापालाई प्रमुख कार्यकारी अधिकृतको रूपमा अध्यक्ष नन्दा शेरचनले हाजिर गराएकी थिइन । यद्यपी सञ्चालक समितिबाट त्यस विषय अनुमोदन हुन बाँकी रहेको थियो । अर्थात छोराहरूले आमाको निर्णयमा असहमति जनाएका थिए ।

स्वर्गीय महेन्द्र शेरचले सुरूवात गरेको पत्रिका बन्द हुँदा केही दर्जन पत्रकारले जागिर गुमाएका छन । योसँगै पत्रिकाको अन्तिम सम्पादक ध्रुव लम्साल बनेका छन । पत्रिका बन्द भएको विषयमा जानकारी माग्दा सम्पादक लम्सालले दुई दिनदेखि पत्रिका प्रकाशन नभएको पुष्टि गर्दै बाँकी कुरा व्यवस्थापनसँग बुझ्न अनुरोध गरे ।

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार १८:४६