५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

सगरमाथाका कीर्तिमानी आरोही हरि बूढामगरलाई कांग्रेसले गर्यो सम्मान

१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आरोही हरि बूढामगरलाई सम्मान गरेका छन् ।

बिहीबार धुम्वाराहीस्थित सभापति देउवा निवासमा सम्मान पत्रसहित खादा ओढाएर बूढामगरको सम्मान गरिएको हो । त्यस अवसरमा देउवाले हरि बुढामगर देशको निधि भएको बताए।

उनले भने ‘ उहाँले खुट्टा गुमाउनु भएतापनि उहाँले साहस गुमाउनु भएको छैन । उहाँले गर्नु भएको काम राष्ट्रको लागि गौरवको कुरा हो । तपाईको बुवा पार्टीमा काम गरे पनि तपाई पार्टीमा मात्र सीमित हुनुहुन्न, तपाई देशकै निधि हो । काँग्रेस पार्टी र सम्पूर्ण नेपालीको तर्फबाट बधाई छ ।

बेलायती सेनामा कार्यरत हुँदा दुवै खुट्टा गुमाएका बूढामगरले गत जेठ ५ गतेसगरमाथाको सफल आरोहण गरेका थिए । सम्मानित बुढामगरले अपांगताको क्षेत्रमा जागरण ल्याउन आफूले सगरमाथाको आरोहण गरेको बताए ।

उनले यस क्षेत्रमा सरकारलाई केही गर्न आफ्नो अभियानले सचेत गराएको विश्वास पनि व्यक्त गरे । ‘सरकारले मलाई दुई वटा हात, दुई वटा खुट्टा र दुई वटै आँखा नभएकालाई सगरमाथा जान ब्याण्ड गरेको थियो ।

त्यो ब्याण्ड गरेपछि हामीले सर्वोच्च अदालतमा गएर मुद्दा लडेका थियौं । र, त्यो मुद्दा जितेर सगरमाथा चढेको र अहिले मैले सरकारलाई पनि यस क्षेत्रमा केही काम गर्न सचेत गराएको महशुस गरेको छु ।’

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहीबार १३:२०