५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

ठेक्का अलपत्र पार्ने पप्पुसहित २३ निर्माण कम्पनी कालोसूचिमा

१७ जेठ, काठमाडौं । अर्बौका ठेक्का लिएर अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनसहितको २३ ठेकेदार कम्पनीलाई सरकारले कालोसूचिमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुमगन कार्यालयले उनीहरुलाई कालोसूचिमा राखेको हो ।

कालोसूचिमा पर्ने पप्पुसहित कोशी एण्ड न्यौपाने, वाइपी कन्स्ट्रक्सन, सप्तकोशी जलाधार–ओम साई एण्ड कम्पनी, आकृति एडभर्टाजिङ, थाक ठिनी इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन लगायतका कम्पनी रहेका छन् ।

उनीहरुलाई कार्यलयले सार्वजनिक खरिद ऐन ०६३ को दफा ६३ को उपदफा १ अनुसार सुचना प्रकाशन गरि कालोसुचिमा राखेको छ । ठेक्का अलपत्र पार्नेमा कुख्यात पप्पुले दुई वर्षका लागि कालोसुचिमा राखिएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पोखराको सिफारिसमा पप्पुलाई कालोसुचिमा राखिएको हो ।

पप्पु सहित कोशी एण्ड न्यौपानेले जेभीमा रोल्पास्थित शहीद मार्ग सडक निर्माणको काम ठेक्कामा लिएको थियो । पप्पुका मालिक सुमित रौनियर हुन भने, न्यौपाने निर्माणको भावेश बोहोरा हुन् । पप्पुले काठमाडौंको तीनकुने–मिनभवन र टेकु–कालीमाटी जोड्ने पुल पनि अलपत्र पारेको छ ।

कलेज अफ इम्प्लोइमेन्टलाई भने तीन वर्षका लागि कालोसुचिमा राखिएको छ । उद्योग मन्त्रालय अन्तर्गतको ग्रामिण उद्यम तथा विप्रेषण आयोजना इटहरीको सिफारिसमा इम्प्लोइमेन्टलाई तीन वर्षसम्म कालोसूचीमा राखिएको हो ।

 

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार १०:४८