५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

पहिचान पक्षधरले आज कोशी प्रदेश घेराउ गर्ने, बिहानैबाट प्रर्दशनकारी पक्राउ

१४ जेठ, काठमाडौं । कोशी प्रदेश नामाकरणको विरोधमा पहिचान पक्षधरहरुले कोशी प्रदेश सभा घेराउ गर्ने भएका छन् । प्रदेशको बजेट अधिवेशनको पहिलो बैठक आजै(आइतवार) दिउँसो २ बजे बस्ने तय भएको छ ।

बिरोध प्रदर्शन हुने भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले बिहीवारबाट प्रदेश राजधानी आसपासका क्षेत्रमा निशेधाज्ञा जारी गरेको छ । पहिचान पक्षधरहरुले निशेधाज्ञा तोड्ने क्रम आज बिहानैबाट सुरु गरेका छन् ।

यसै क्रममा प्रहरीले २० भन्दा धेरै अभियन्तालाई बिहानै पक्राउ गरेको छ । पहिचान पक्षधर संयुक्त संघर्ष समितिका नेता राजकुमार नाल्बोले आन्दोलनमा उत्रिएका २० भन्दा धेरै अभियन्तलाई प्रहरीले बिहानै पक्राउ गरेको बताए ।

उनले भने,‘कोशी प्रदेश नामाकरणको बिरोधमा हामी केही महिनोदेखि आन्दोलनरत छौं । यसक्रममा एकजना सहिद भइसके । तर, नामाकरण फिर्ता हुन सकेको छैन । यसैको विरोधमा हामीले आज प्रदेश सभा घेराउ गर्ने भनेका छौं । प्रशासनले निशेधाज्ञा जारी गरेको छ । बिरोधमा उत्रिएका साथीहरु पक्राउ गरेका छन् ।’

प्रदेश सभाले गत १७ फागुनमा प्रदेशको नामाकरण कोशी राखेको थियो । त्यसैको विरोधमा पहिचान पक्षधर आन्दोलनमा छन् । नामाकरणपछि सभाको आज पहिलो बैठक बस्दैछ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आईतवार १०:०३