२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

नक्कली शरणार्थी प्रकरणः कांग्रेस नेता आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

३१ वैशाख, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांंग्रेसका नेता आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई बचाउन लागि परेको र शरणार्थी प्रकरणमा थुनामा रहेका विचौलियाहरुलाई भेटेको आरोप लागेका कांग्रेस नेता आङटावा शेर्पाविरुद्ध जिल्ला अदालत काठमाडौंले आज विहान पक्राउ पुर्जी जारी गरेको हाे । पक्राउ पुर्जी जारी भए लगत्तै प्रहरीले शेर्पाको खोजी तीब्र पारेको छ ।

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि पनि रहेका शेर्पाले शरणार्थी प्रकरणमा थुनामा रहेका विचौलियाद्वय केशव दुलाल र सानु भण्डारीलाई हिरासतमा नै भेटेर वयानमा पूर्व गृहमन्त्री खाँणलाई नपोल्न आग्रह गरेका थिए । यस्तै उनले गृहमन्त्रालयमा नै गएर खाँणलाई बुझाएको रकम फिर्ता गरिदिने भने गरेको कागज पनि प्रहरीले फेला पारेको छ । शेर्पा २०७० सालमा रामेछाप १ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आईतवार १०:५७