२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन, आजै अन्त्यष्टी गरिने

२८ वैशाख, काठमाडौं । दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको गएराती निधन भएको छ । उनको आजै(बिहीवार) नेवारी परम्परा अनुसार अन्त्यष्टी गरिने मुकेश फाउन्डेसनका अध्यक्ष हिरा शर्मा नेपालले बताएका छन् ।

पछिल्लो तीन दिन यता श्वासप्रश्वासमा समस्या आएपछि उनलाई उपचारको लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा बुधवार राती करिव आठ बजे निधन भएको शर्माले जानकारी दिए ।

अहिले कायस्थको पार्थिव शरिरलाई उनकै घरमा राखिएको छ । उनको शव काभ्रेस्थित बनेपा नगरपालिका कार्यालय प्राङगण लैजाने तयारी भइरहेको छ । उनको सम्मानमा श्रद्धाञ्जली दिन शव नगरपालिका कार्यालय लैजान लागिएको हो ।

फाउण्डेशनका अध्यक्ष शर्माले भने,‘उहाँको शरीरलाई हिजो मध्राती नै घरमा ल्याएका छौं । आज बनेपा नगरपालिकाको प्राङ्गणमा उहाँलाई श्रद्धाञ्जलीका लागि राख्ने तयारी भैरहेको छ, दिउँसो सम्म श्रद्धाञ्जलीका लागि राखेर नेवारी परम्परा अनुसार नै उहाँको अन्त्यष्टी गरिने छ ।’

२७ चैत २०६२ मा भएको आन्दोलनका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर उनी घाईते भएका थिए । त्यसएता उनी अर्धचेत अवस्थामा ओछ्यानमै थिए ।सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते हुँदा उनी १४ वर्षका थिए । उनलाई २०७८ सालमा ‘लोकतन्त्रका योद्धा’ बाट सरकारले सम्मान प्रदान गरेको थियो ।

तर, जिउँदो सहिद मानेको उनलाई सरकारले कसरी मुल्यांकन गर्छ आफूहरुले त्यसको प्रतिक्षा गरिरहेको मुकेश फाउण्डेसनका अध्यक्ष शर्माले बताए । ‘उहाँको श्रद्धाञ्जलीका लागि सरकारको तर्फबाटमन्त्री नै आउने कुरा भैरहेको छ तर,को भन्ने यकिन छैन्। हामीले उहाँको सम्मानको लागि प्रयास गरिरहेका छौं ।’ उनले भने । लामो समयसम्म ओछ्यान परेका उनी पछिल्लो समय अर्धचेत अवस्थामै संसार छोडेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार ०९:४८