२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

कमिसनखोर र भ्रष्टाचारीलाई कारवाही गर्नुपर्छः गृहमन्त्री श्रेष्ठ

२७ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारले देश वर्वाद बनाएको भन्दै कमिसनखोर र भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने बताएका छन् । नेपाली कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक आन्दोलनका शीर्ष नेता निर्मल लामाको २३ औं स्मृति कार्यक्रममा उनले निर्मल लामालाई सम्झिनु भनेको नेपाली कम्युनिष्ट आन्दोलनको सम्मान गर्नु भएको बताए । उनले लामाप्रति श्रद्धाभाव प्रकट गर्दै राजनीतिमा देखा परेको भ्रष्टीकरणलाई समाजबाट निमूल पार्नुपर्ने बताए ।

उनले भने, निर्मल लामालाई सम्झिनु भनेको नेपाली कम्युनिष्ट आन्दोलन र राजनीतिमा देखा परेको भ्रष्टीकरणलाई रुपान्तरण गर्दै सिंगो समाजको रुपान्तरण गर्न अभियान र आन्दोलन चलाउनु हो । त्यसको लागि संकल्प गर्नुपर्छ सबैलाई आग्रह गर्छु । कमिसन र भ्रष्टाचारले देश वर्वाद बनाएको छ, कमिसनखोर र भ्रष्टाचारीलाई कारवाही गर्नुपर्छ ।

सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई अगाडि बढाउनु पर्छ । कोही निर्दोष डराउनु पर्दैन् । दोषी छुट्ने छैनन् जहाँ गएपनि छोड्दैनौ यो हाम्रो प्रतिवद्धता हो उही अनुसार अघि बढ्छौ । ’ मन्त्री श्रेष्ठले अहिले समाजवाद उन्मुख समृद्धि वा सामाजिक आर्थिक रुपान्तरण र सामाजिक न्यायसहितको समृद्धिको लक्ष्य पूरा गर्दै समाजवाद निमार्ण गर्नु पर्ने बताए ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार १५:५८