२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

गगनको चेतावनीसँगै यु्वाले कांग्रेस छाड्न थाले, नुवाकोटका कार्कीद्धारा पार्टी परित्याग

२५ वैशाख, नुवाकोट । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाको अत्याच्यार धेरै भएको भन्दै सार्वजनिक रूपमा चेतावनी दिएको केही घण्टामै नेपाली कांग्रेसका युवा नेताहरूले पार्टी परित्याग सुरू गरेका छन । यहीक्रमा नुवाकोट कांग्रेसका नेता ३८ वर्षीय लुमडी कार्कीले पार्टी परित्याग गरेको घोषणा गरेका छन ।  महामन्त्री थापाले आइतबार पार्टीभित्रको दयालाग्दो अवस्थाका बारेमा बिद्रोह हुन सक्ने संकेतसहित चेतावनी सार्वजनिक गरेका थिए ।

महामन्त्री थापाले भनेका थिए, ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !’

त्यसको केही घण्टापछि कांग्रेस नुवाकोटका युवा नेता कार्कीले २५ वर्षदेखि आवद्ध रहेको पार्टी परित्यागको घोषणा गरे । उनले पनि नेतृत्वको कार्यशैलीप्रति चरम असन्तुष्टि जनाएका छन । उनले पार्टीमा सत्ता चलखेल र नैतिकहीन कार्य बढेको जनाउँदै पार्टी परित्यागको घोषणा गरेका छन् । विदुर नगरपालिका वडा नं। १३, कल्याणपुर निवासी कार्कीले यही वैशाख २४ गते एक वक्तव्यमार्फत लोकतन्त्रलाई लुटतन्त्र बनाउन काँग्रेसका नेताहरु लिप्त भएकाले आफू पार्टीबाट अलग रहेको जनाएका हुन् । नेपाली उपभोक्ता संरक्षण महासंघका उपमहासचिव, प्रवक्ता एवं बजार अनुगमन तथा मूल्यांकन प्रमुख रहेका कार्की सामाजिक र सुशासनका क्षेत्रमा पनि कार्यरत छन् ।

यस्तो छ कार्कीको काँग्रेस परित्याग घोषणाः
‘मैले जानेसुनेदेखि आस्था बोकेको प्रिय नेपाली काँग्रेस पार्टी यात्राको २५ वर्षदेखि गाँसिएको सम्बन्ध बिपीको सोच र चिन्तनबाट अलग हुने निर्णय गरेको छु । देशको राजनीति तिव्र नैतिकहीन, चरम सत्ताचलखेल र अति अस्थिरतामा फसेर भट्टीको जुवाखालसरह हुँदा पनि रमिते भएर बस्ने देशका बुद्धिजिवी, पेसाकर्मी र टाठाबाठाहरु यो परिणामका दोषी हुन् । यो वर्ग नसुध्रिएसम्म राजनीति सुध्रन्न । देश लोकतन्त्र होइन लुटतन्त्रतर्फ उन्मुख हुँदैछ ।

मेरा आदरणीय राजनीतिक गुरु अर्जुननर्सिङ केसी ज्यूलाई स्मरण गर्दै विभिन्न कालखण्डको परिवर्तनको मुलवाहक काँग्रेस पार्टीप्रति जनताको वितृष्णा मौलाउँदै गएको र भ्रष्टाचार एवं गुट उपगुटका कारण असल राजनीतिज्ञको राजनीतिक हत्या भएको छ । पदीय जिम्मेवारी र टिकट वितरणमा केन्द्रदेखि तल्लो तहसम्म आर्थिक लेनदेन, अपचलन र परिवारवाद संवैधानिक निकायमा भागबन्डाको हिस्सेदार र अपराधी प्रवृत्तिको संरक्षण भइरहेको छ ।

२१ औं शताब्दीको टेक्नोलोजी अनुसार अगाडी बढ्न नसक्नु, ठोस आर्थिक नीति र योजना चयन गर्न नसक्नु बौद्धिक ब्यक्तित्वहरुको मूल्याकंन नहुनु, काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेस कार्यकर्ताको शीर निहुरिने झुकाउने अवस्था सृजना भएको छ । जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर र किशुनजी जस्ताको ऐतिहासिक दल परिवारवादामा रुमलिनु, नैतिक पतन र आचरणहीन व्यक्ति पार्टीका शीर्ष स्थानमा बिराजमान रहनु सुशासन र अनुशासनको खडेरी पर्नु, आर्थिक उन्नतिको एजेण्डा कार्यान्यनप्रति अर्जुनदृष्टि नहुनु र केही स्वार्थ प्राप्तिका लागि कुनै एजेन्डा बिहिन पार्टीसँग गठबन्धन गरिनु जस्ता कार्यबाट म जस्ता लाखौ नेता कार्यकर्ता विचलित हुनपुगेका छौं ।

पार्टीप्रति नमन गर्दै मैले तिनका झोले बनेर भ्रष्टहरुको मतियार बनेर हिड्न नसकिने प्रष्ट पार्दै मेरा शुभचिन्तक, आमाबुबा दाजुभाइ दिदिबहिनी र साथीभाइमा हाम्रो भविष्य भन्दा पनि ती अवोध बाबुनानीको भविष्य सुनिश्चित पार्न म हर प्रयास गरिरहने छु ।

तपाईहरुको माया र साथलाई शिरोपर गर्नेछु भन्नेमा पूर्ण विश्वास व्यक्त गर्दै मलाई विश्वास गरी विभिन्न पार्टी परित्याग गरी काँग्रेस पार्टीमा प्रवेश गर्नुभएका सम्पूर्णप्रति आत्मादेखि क्षमायाचना माग्दै आजकै मितिदेखि साधारण सदस्य समेत नरहने गरी स्वतन्त्र भएको घोषणा गर्दछु । बाँकी जीवन सामाजिक कार्य र जनहितमा लगाउने प्रतिबद्धता जाहेर गर्दै समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियान र कार्यदिशा मेरो बटमलाइन हुनेछ ।’

लुमडी कार्की, नुवाकोट
महाधिवेशन प्रतिनिधिका प्रत्याशी, नेपाली काँग्रेस

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार १२:०५