२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

संसदमा देखिए रोचक परिदृश्य

२४ वैशाख, काठमाडाैं । सङ्घीय संसद्को आइतबार अपराह्नदेखि सुरु भएको वर्षेे अधिवेशनको बैठकको पहिलो दिन बेग्लै र रोचक परिदृश्य देखिए । निर्धारित समय ४ बजेभन्दा १५ मिनेट ढिला गरी सुरु भएको बैठकको सुरुमै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आकस्मिक समय लिएर बोल्ने अनुमति मागे ।

लगत्तै स्वतन्त्र सांसद अमेरशकुमार सिंहले उभिएर केही भन्न खोज्दै थिए । त्यही बीचमा नेकपा (एमाले) का सांसद रघुजी पन्तले पनि बोल्नका लागि सभामुखतिर इसारा गरे ।

यसरी उठेर बोल्न चाहने सांसदको सङ्ख्या बाक्लो भएपछि सभामुखले पटक–पटक बैठक सञ्चालनका लागि सहजीकरण गरिदिन सांसदहरुलाई आग्रह गरे । “माननीय सदस्यहरु दोस्रो अधिवेशनको पहिलो बैठक सुरु भइरहेको छ, यसका केही नियम र पद्धतिहरु छन् यसलाई पूरा गरेपछि बोल्नुहोला, पहिलो बैठक औपचारिक सुरु हुन दिनूस् बाँकी के कसरी चलाउने हो सल्लाह गरेर गरुँला”, सभामुख घिमिरेले भने ।

सभामुखले उठेका सांसदलाई बसेर बैठक सुरु हुने वातावरण बनाउन अनुरोध गरे । तर, सभामुखको आग्रहलाई बेवास्ता गर्दै केही सांसदहरुले निरन्तर बोल्नका लागि उभिएर सङ्केत गरिरहे । “संसद्को कारबाही सुरु गरेपछि आफ्नो कुरा राख्नुहोला म बोल्नका लागि समय निर्धारण गर्नेछु; यस्तो साङ्केतिक जुहारी करिब १० मिनेट चलेपछि सभामुखले बैठक प्रारम्भ भएको घोषणा गर्दै अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाए । त्यसपछि बैठकमा लोकतन्त्र र प्रजातन्त्र प्राप्तिका लागि जीवन अर्पण गर्ने ज्ञात अज्ञात शहीदहरुप्रति बैठकले १ मिनेट मौनधारण गरियो ।

बैठकमा पहिलो वक्ताका रुपमा सांसद प्रेम सुवालले भूटानी शरणार्थीका विषयमा दोषीलाई कानुनी दायरामा ल्याउनेदेखि नागरिकता र खोप इञ्जिनियरिङ कलेजको विषय उठाए । सांसद अमरेशकुमार सिंहले सर्वदलीय भ्रष्टाचार हुने गरेको आरोप लगाउँदै पछिल्लो भूटानी शरणार्थी प्रकरणमा दोषी ठहरिएका कसैलाई पनि उन्मुक्ति दिन नहुने जिकिर गरे । सबै भ्रष्टाचारको उच्चस्तरीय छानबिन समिति गठन गरेर दोषीलाई कानुनी दायरामा ल्याउन उनले माग गरे ।

एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले भ्रष्टाचारका सवालमा ‘यो टेलर मात्रै हो फिल्म देखाउन बाँकी नै छ’ भन्ने विषयको प्रसङ्ग उल्लेख गर्दै मुलुकमा भएका सबै किसिमका भ्रष्टाचार र अनियमितताप्रति आफ्नो पार्टी एकताबद्धका साथ दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ भन्ने पक्षमा रहेको बताए। “हामी फिल्म हेर्न टिकट काटेर बसेका छौँ फिल्म देखाउनूस् वाइडबडी, यतिलगायत सबै काण्डको छानबिन गरियोस्”, उनले भने ।

एमालेकै सचेतक महेशकुमार बर्तौलाले यतिबेला सिङ्गो देशको ध्यान नेपालीलाई भूटानी शरणार्थी बनाएर अर्बौैैैँ घोटला गर्ने र दोषीलाई उम्काउने खेल भइरहेको भन्दै यस्ता घटनाको सत्यपक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे ।

एमाले सांसद सूर्य थापाले भ्रष्टाचारको फिल्म हेर्न आफू पनि तयार रहेको बताए । त्यसपछि सांसद बोलिसकेपछि पुनः सभामुखले सांसदलाई बस्न र नियम पालना गर्न अनुरोध गरे ।

जवाफमा सत्तारूढ नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रतिपक्षी दलका सांसदहरुले छापामार शैलीमा आफ्ना कुरा राखेको भन्दै प्रमुख प्रतिपक्ष साँच्चिकै भ्रष्टाचारीलाई कारबाही गर्न चाहेको हो भने इमान्दार हुन आग्रह गरे । उनले प्रधानमन्त्रीले राखेका कुरा खिसिटिउरी गरिरहनुले विषयलाई विषयान्तर गर्ने प्रयास भएको भन्दै इमान्दारीपूर्वक रायामाझीलाई पक्राउ गर्न सहयोग गरेको खण्डमा काफी हुने उल्लेख गरे ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ‘नेपालको राजनीतिमा जो बढी बदमास त्यही बढी डकार्छ’ भन्दै भ्रष्टाचार र अनियमिततामा दोषी जोकोहीलाई संसदीय समिति बनाएर कारबाही गर्न माग गरे । एमाले सांसद रघुजी पन्तले आरोप–प्रत्यारोप चलेको भन्दै पार्टी संविधान र कानुनको पालनामा प्रतिबद्ध रहेको बताए ।

कांग्रेसका सांसद सुनील शर्मा भूटानी शरणार्थीका विषयमा पक्राउ परेकालाई संसद्मा ल्याएर बयान दिलाउन सभामुखको ध्यानाकर्षण गराए । सांसद आरजु राणाले आफ्नो चरित्र हत्या गर्ने अभिप्रायले विभिन्न टीकाटिप्पणी भइरहेको बताइन् । उनले सबै नेता र सांसदको सम्पत्ति विवरण सार्वजनिक गर्न पनि माग गरिन् । सांसद हरि ढकालले विगत ३३ वर्षमा धेरै भ्रष्टाचारका काण्ड भएको भन्दै आयोग बनाएर भ्रष्टाचारीको छानबिन हुनुपर्ने माग गरे ।

सांसद दीपकबहादुर सिंहले सत्तापक्ष र प्रतिपक्षले भ्रष्टाचार र अनियमितताको विषयलाई प्रभावकारी ढङ्गले उठाउन नसकेको बताए । सांसदहरुले आकस्मिक समयमा समसामयिक विषयमा समधारणा राखिसकेपछि बैठक कार्यसूचीमा प्रवेश गरेको थियो । रासस

प्रकाशित मिति : २४ बैशाख २०८०, आईतवार २०:०७