२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

प्रधानमन्त्रीलाई एमाले सांसदको चुनौतीः फिल्म हेर्न आतुर छौं, सबै काण्डको छानबिन गरौं

२४ वैशाख, काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले, सबै काण्डको छानबिन गर्न प्रधानमन्त्रीलाई चुनौती दिएका छन् । संसदको आइतबारको बैठकमा समय लिएर बोल्दै प्रमुख सचेतक गिरीले अहिलेसम्म भएका सबै भ्रष्टाचार र अनियमितताको छानबिन गर्नुपर्ने बताए ।

‘यो त टेलर मात्र हो, फिल्म आउन बाँकी नै छ सम्माननीय प्रधानमन्त्रीज्यूले भन्दै हिड्नु भएको छ। सम्माननीय प्रधानमन्त्री ज्यू हामी फिलिम हेर्नका निम्ति आतुर छौं, हामी तपाईले फिलिम देखाउनु हुन्छ भनेर टिकट काटेर बसेका छौं । फिलिम देखाउनुस् ।’ उनले भने ‘बाइड बडीको छानबिन गरौं, बाँसबारीको छानबिन गरौं, मातातीर्थको छानबिन गरौं । यती, ओम्नी र लडाकू शिविर काण्डको छानबिन गरौं ।’

त्यस्तै एमाले सचेतक महेश बतौलाले पनि नक्कली शरणार्थी प्रकरणमा संलग्न सबैमाथि छानबिन गर्नुपर्ने बताए । तर प्रधानमन्त्रीले पूर्वाग्रह साँधेको उनको आशंका छ । ‘कतै उहाँ पूर्वाग्रह राखेर सत्तापक्षसँग जोडिएकालाई उन्मुक्ति दिने र अन्य मान्छेहरुसँग पूर्वाग्रह साँध्ने दूषित मनसाय त छैन भन्ने देखिन थालेको छ ।’

एमालेकै अर्का सांसद सूर्य थापाले पनि दोषीलाई नछाड्न र निर्दोसलाई नफसाउने आग्रह गरे । उनले आफूले माओवादीसंग जोडिएको क्यान्टोनमेन्ट प्रकरणबारे समेत छानविन गर्न चुनौति दिए । ‘मलाई प्युठानी जनताले टिकट काटेर पठाउनुभएको छ, क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारको फिल्म हेर्न चाहन्छु । सम्माननीय प्रधानमन्त्रीज्यू, त्यो फिल्म हेर्ने व्यवस्था अविलम्ब गर्नुस ।’ उनले भने ‘म गृहमन्त्रीलाई आग्रह गर्न चाहन्छु, कमानसिंह लामा ठगी प्रकरणमा फिल्म हेर्न चाहन्छु । त्यो फिल्म हेर्ने व्यवस्था गर्नुस’

प्रकाशित मिति : २४ बैशाख २०८०, आईतवार १८:१०